आज विदेशमा रहेका नेपाली दूतावास बन्द रहने

आज विदेशमा रहेका नेपाली दूतावास बन्द रहने

कहिरन समाचार

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा विदेशमा रहेका नेपाली राजदूतावास पनि बन्द रहने भएका छन् । गृह मन्त्रालयले उनको शोकमा एकदिन विदा दिने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली राजदूतावासहरु समेत बन्द रहने भएका हुन् ।

साउदीमा रहेको नेपाली राजदूतावासले एक सूचना जारी गर्दै सरकारको निर्णय अनुसार जोशीको निधनको शोकमा कात्तिक १ गते (१८ अक्टोबर २०२२) मा राजदूतावास बन्द रहने जनाएको हो । त्यस्तै मलेसियास्थित नेपाली राजदूतावासले पनि १ गते दूतावासका नियमित कन्सुलर सेवाहरू बन्द रहने जनाएको छ ।

शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । सरकारले उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा सार्वजनिक विदा तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको थियो । सोही आधारमा विभिन्न देशमा रहेका नेपाली राजदूतावास तथा नियोगहरू बन्द रहने भएका हुन् ।

जोशीलाई श्रद्धाञ्जली अर्पण गर्ने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक विदा दिने बताएका थिए ।