मस्कको घोषणा युक्रेनलाई निःशुल्क इन्टरनेट सेवा नरोक्ने

मस्कको घोषणा युक्रेनलाई निःशुल्क इन्टरनेट सेवा नरोक्ने

कहिरन समाचार

अमेरिकी धनाढ्य एलन मस्कले छिमेकी रुसको सैन्य हमलासँग भिडिरहेको युक्रेनलाई दिँदै आएको निःशुल्क इन्टरनेट सेवा जारी राख्ने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत युक्रेनलाई निःशुल्क रूपमा दिँदै आएको इन्टरनेट सेवा नरोक्ने बताएका हुन् ।

यसअघि, स्टारलिंकको दैनिक खर्च बढेको भन्दै मस्कले सेवा रोक्ने चेतावनी दिएका थिए । उनले मासिक २ करोड अमेरिकी डलरसम्म खर्च आउने भएकाले युक्रेनलाई दिँदै आएको इन्टरनेटको शूल्क अमेरिकी सरकारले तिरोस् भन्ने चाहन्थे । यही अपेक्षासहित उनले भावी दिनमा यो सेवा जारी राख्न नसकिने भन्दै ट्वीट गरेका थिए ।

त्यसक्रममा उनले खर्च बढेको तथा रुसी साइबर आक्रमणकारीहरूको हमला बढेको बताएका थिए । मस्कले अघिल्लो महिनादेखि युक्रेनलाई निःशुल्क इन्टरनेट सेवा प्रदान गर्दै आइरहेका छन् । रुसी सेनाले युक्रेनको इन्टरनेट प्रणाली ध्वस्त बनाएपछि उनले स्याटलाइटमा आधारित इन्टरनेट सेवा दिँदै आएका हुन् ।