निर्वाचनमा मत सर्वेक्षण गर्न नपाइने

निर्वाचनमा मत सर्वेक्षण गर्न नपाइने

कहिरन समाचार

निर्वाचन आयोगले आगामी निर्वाचनमा मत सर्वेक्षण गर्न नपाइने जनाएको छ । आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेकाले मत सर्वेक्षण गर्न नपाइने जनाएको हो ।

आयोगका उपसचिव तथा सहायक प्रवक्ता कमल भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै उम्मेद्वारको मनोनयन दर्ता भएपछि मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण गर्न र त्यसको नतिजा सार्वजनिक गर्न तथा सामाजिक संजालबाट प्रचारप्रसार नगर्न भन्दै आयोगले त्यसो गरेमा कारवाही हुने जनाएको हो ।

‘आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगको अनुगमनबाट पाइएको छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘(आचारसंहिताका) व्यवस्थाहरु विपरीत कोही कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही हुने व्यहोरा सबैलाई जानकारी गराइन्छ ।’

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।

साथै आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको छ ।