खानीखोला, धादिङका इन्चार्ज इन्स्पेक्टर ढुंगाना अहिले प्रहरीको हिरासतमा

खानीखोला, धादिङका इन्चार्ज इन्स्पेक्टर ढुंगाना अहिले प्रहरीको हिरासतमा

कहिरन समाचार

इलाका प्रहरी कार्यालय खानीखोला, धादिङका इन्चार्ज इन्स्पेक्टर अपूर्व ढुंगाना अहिले प्रहरीको हिरासतमा छन् । जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा उनलाई थुनामा राखिएको हो । प्रहरी प्रधान कार्यालयले खानीखोलामा इन्स्पेक्टर डबल बहादुर बमलाई काजमा खटाएको छ ।

इन्स्पेक्टर ढुंगानामाथि सहकर्मी महिला प्रहरीलाई बलात्कार प्रयास गरेको आरोप छ । इलाका प्रहरी कार्यालय खानीखोलामा कार्यरत महिला प्रहरीले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा ‘बलात्कार उद्योग’ गरेको जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् ।

पीडितले दिएको उजुरीको आधारमा ढुंगानामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्याम खत्रीले बताए । ‘इन्सपेक्टर ढुंगाना असोज १५ देखि हाम्र्रो नियन्त्रणमा छन्’ खत्रीले भने, ‘आरोपबारे अनुसन्धान गर्दैछौं ।’

असोज १५ गते राति १ बजेपछि इप्रका खानीखोलास्थित महिला प्रहरीको ब्यारेकमा आएर ढुंगानाले बलात्कार प्रयास गरेको महिला सहकर्मीको आरोप छ । सो घटना ‘रिपोर्ट’ हुनासाथ धादिङका एसपी राकेश सिंहले इन्स्पेक्टर ढुंगानालाई पक्राउ गर्न आदेश गरेका थिए ।

करणी उद्योगमा मुद्दा दर्ता भएसँगै आरोपी स्वतः निलम्बनमा परेका छन् । उनी थुनामा परेको १० दिन भएको छ । इलाका प्रहरी कार्यालय कमाण्डरबिहीन भएपछि त्यहाँ इन्स्पेक्टर बमलाई काजमा पठाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।