इरान: प्रदर्शनका क्रममा दुई सुरक्षाकर्मीको मृत्यु

इरान: प्रदर्शनका क्रममा दुई सुरक्षाकर्मीको मृत्यु

कहिरन समाचार

इरानको सरकारी सञ्चारमाध्यमले देशमा जारी प्रदर्शनका क्रममा दुई सुरक्षाकर्मीको मृत्यु भएको जानकारी दिएको छ ।

बासिज अर्गनाइजेशनको आधिकारिक वेबसाइटमा ‘दङ्गा गर्नेको गोली लागेर एकजना सुरक्षाकर्मीको मृत्यु’ भएको जानकारी दिइएको छ । शनिबारको प्रदर्शनका क्रममा इस्लामिक रिभोलुसन गार्ड कोर (IRGC) का एक सिपाहीको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ। मिडिया रिपोर्टका अनुसार अहिलेसम्म आईआरजीसी, बासिज र प्रहरी बलका कम्तीमा २० जवानको मृत्यु भइसकेको छ।

इरानमा हिजाबको विरोधमा प्रदर्शन भइरहेको छ । महसा अमिनीको प्रहरी हिरासतमा सेप्टेम्बर १६ तारिखमा मृत्यु भएपछि आन्दोलन सुरु भएको हो । उनी यसअघि पनि तीन पटक पक्राउ परेकी थिइन् । सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोहरूमा धेरै विद्यार्थी र छात्राहरू विरोध प्रदर्शनमा सहभागी भएको देखिन्छ।