कांग्रेस प्रवेश गरेको चार दिनमै चौधरीलाई चिठ्ठा !

कांग्रेस प्रवेश गरेको चार दिनमै चौधरीलाई चिठ्ठा !

कहिरन समाचार

नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) छाडेर आएकी चन्दा चौधरीलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ । पार्टी प्रवेश गरेको चार दिनमै (असोज १६ गते) कांग्रेसले चन्दालाई समानुपातिक उम्मेदवारको सूचीमा राखेको हो । असोज ३ गते निर्वाचन आयोगको पेस गरिएको समानुपातिक उम्मेदवारको बन्दसूची संशोधनका क्रममा कांग्रेसले चन्दाको नाम पनि समावेश गरेको छ ।

यही असोज १२ गते जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कांग्रेस प्रवेश गरेकी चन्दाको नाम मधेसी महिलातर्फ तीन नम्बरमा रहेको छ । उनी सांसद बन्न निश्चित जस्तै छ । कांग्रेसले उनलाई सर्लाही ४ मा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने चर्चा थियो । तर चन्दा समानुपातिकतर्फको उम्मेदवार बनेकी छन् ।​

भारतीय गृहमन्त्री राजनाथ सिंहसँग राम्रो सम्बन्ध रहेकी चन्दालाई प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको जोडबलमा सांसदको उम्मेदवार बनाएको बुझिएको छ । पार्टी प्रवेश गरेको चार दिनमा समानुपातिकतर्फ उम्मेदवार बनाएकोमा कांग्रेसकै नेताहरुलाई पनि निको लागेको छैन । यद्यपि कांग्रेससँग उनको पारिवारीक साइनो भने नभएको होइन । उनका बुबा प्रधानपञ्च भएपनि दाजु नरेश चौधरी कांग्रेस राजनीतिमा संलग्न थिए ।

०५४ साल कांग्रेस भएकै कारण नरेशलाई भारत लगेर मारिएको आशंका छ । अहिलेसम्म नरेशबारे अत्तोपत्तो छैन । बुबा पञ्चायत र दाजु कांग्रेस भएपनि चौधरीको राजनीति भने सद्भावना पार्टीबाट सुरु भएको देखिन्छ । राष्ट्रिय राजनीतिमा भने महन्थ ठाकुर नेतृत्वको तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट चन्दाको उदय भयो ।

तराई मधेश महिला संघको संस्थापक अध्यक्ष बनेकी उनी ०६४ मा तमलोपाको केन्द्रीय सदस्यमा भएकी थिइन् । चन्दाले भारतीय मूलका मानिसहरूको उद्योग वाणिज्य सङ्घ, नेपालको संयोजकको जिम्मेवारी सम्हालेकी थिइन् ।

२०६६ मा तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारमा उनी खेलकुद राज्यमन्त्री बनेकी थिइन् । ०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट समानुपातिक सांसद बनेकी थिइन् ।
२०७८ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा चन्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पनि बनेकी थिइन्।