खसीको मासु छ? यसरी बनाउन सकिन्छ युरोपको चर्चित परिकार

खसीको मासु छ? यसरी बनाउन सकिन्छ युरोपको चर्चित परिकार

कहिरन समाचार

दसैंको बेला छ। घरमा मासु भित्रिएको छ। कतिले खसी नै काट्नुभयो होला। धेरै मासु भए पनि विभिन्न परिकारबारे जानकारी नहुँदा एकै खाले परिकार खानुपर्ने बाध्यता पनि हुन्छ।

खसीको मासुबाट कुनै नयाँ परिकार बनाएर आफू र परिवारलाई खुवाउन चाहनुहुन्छ भने ‘पुल्ड मिटलोफ’ राम्रो विकल्प हुन सक्छ।

हामीमध्ये धेरैले यस परिकारको नामै नसुनेका हौंला। हेर्दा पाउरोटीजस्तो देखिने यो परिकार कस्तो हो भन्नुहोला। खसीको मासुबाट बन्ने पुल्ड मिटलोफ युरोपका धेरै देशमा चर्चित छ र मुख्य परिकारका रूपमा खाइन्छ।

हामीले कस्मोपोलिटियन सेफ कुमार चालिसेको सहयोगमा तपाईंलाई पुल्ड मिटलोफ बनाउन सिकाएका छौं।

आवश्यक सामग्री

दुई वटा अन्डा

एकदेखि दुई कप दूध

दुई कप पकाइएको टुक्रा मासु

एक कप ब्रेड क्रम्ब (पाउरोटीका टुक्रा)

स्वादअनुसार एउटा वा दुइटा मसिनो गरी काटिएको हरियो प्याज

एकदेखि चार कप मसिनो गरी काटिएको भेडे खुर्सानी (क्याप्सिकम)

एक चम्चा सुख्खा तोरी

एक चम्चा मरिचको धूलो

एक वा दुई कप बार्बिक्यु सस

कुकिङ स्प्रे

समयः

तयार गर्ने अवधिः १५ मिनेट

पकाउने अवधिः १ घन्टा

सम्पूर्ण तयारी सकिन लाग्ने अवधिः १ घन्टा २० मिनेट

पकाउने विधि

१.   सर्वप्रथम सम्पूर्ण पूर्वतयारी गरिसक्ने।

२.   त्यसपछि सबै सामग्री र उपकरण तयार पार्ने।

३.   ओभनलाई १७५ डिग्री सेल्सियसमा प्रि-हिट गर्ने।

४.   लोफ प्यानलाई कुकिङ स्प्रेले स्प्रे गर्ने।

५.   अन्डा राम्ररी फिटेर एउटा बटुकामा राख्ने र त्यसमा खसीको मासु, ब्रेड क्रम्ब, भेडे खुर्सानी (क्याप्सिकम), हरियो प्याज, तोरी र मरिच हालेर मजाले चलाउने।

६.   उक्त मिश्रणलाई अघि तयार पारेको लोफ प्यानमा सार्ने।

७.   त्यसमा मासुलाई कसेर दबाउने अनि माथिबाट बार्बिक्यू सस फैलाउने।

८.   यसलाई प्रिहिट गरेको ओभनमा १ घन्टासम्म बेक गर्ने।

९.   यसपछि तयार पाकेको मिटलोफलाई ५ देखि १० मिनेटजति सेलाउन दिने।

यसपछि मिटलोफ खान सकिन्छ।