ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता आजदेखि सुरु

ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता आजदेखि सुरु

कहिरन समाचार

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पहिलोपटक ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता सुरु भएको छ । खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि आजदेखि प्रथम ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता सुरु भएको हो । लैनचौर खेल मैदानमा सुरु भएको उक्त प्रतियोगिताको काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले उद्घाटन गरे ।

कार्यक्रममा वडाध्यक्ष तिवारीले खेलकुदले खेलाडीलाई स्वस्थ्य राख्नुका साथै समाजलाई एकताबद्ध हुने सहयोग पुग्ने विश्वास व्यक्त गरे । आगामी दिनमा यस्ता खेलकुदलाई निरन्तरता दिन वडा कार्यालयले सहयोग गर्ने उनको भनाई थियो । वडाध्यक्ष तिवारीले लैनचौर खेल मैदानले मुलुकका लागि धेरै खेलाडी उत्पादन गरेको बताउँदै यस क्लबको संरक्षणका लागि लैनचौर युवा क्लब र एनसेलसँगको सहकार्यमा वडाले काम गरिरहेको उल्लेख गरे ।

लैनचौर युवा क्लबका अध्यक्ष एवम् सामुदायिक प्रहरी सेवा केन्द्र ठमेलका अध्यक्ष रम्बा रजकले ठमेल क्षेत्रको पर्यटन विकासका लागि यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे । एनसेलको सहयोगमा काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा निर्माण भएको उक्त खेलमैदान लैनचौर युवा क्लबले ठमेल पर्यटन भेट्रान्स फुटबल कपका लागि ठाउँ निःशुल्क उपलब्ध गराएको उनको भनाइ थियो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले खेलकुद क्षेत्रलाई पर्यटनसँग जोड्दै ठमेल क्षेत्रमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।  अहिले स्वदेशी खेलाडीलाई प्रतियोगितामा समावेश गरिए पनि आगामी दिनमा विदेशी खेलाडीलाई समेत बोलाएर यस्ता प्रतियोगिता आयोजना गर्ने उनको भनाइ थियो ।

प्रतियोगिताका संयोजक एवं परिषद्का उपाध्यक्ष प्रश्रयराज भण्डारीले तीन दिनसम्म चल्ने प्रतियोगितामा देशभरका १७ टिमको सहभागिता रहेको जानकारी दिए । प्रतियोगितामा ठमेल क्षेत्रका तीन टिम, डिल्लीबजार, सिन्धुपाल्चोक, मनाङ मर्स्याङ्दी, कैलाली, जोरपाटी, फ्रिडम फाइटर, बौद्ध, सङ्गम पोखरा, चाबहिल, चितवन, कोटेश्वर, कपन, लाजिम्पाटलगायत फुटबल टिमको सहभागिता रहेको छ ।

चालीस वर्ष उमेर कटेका खेलाडीको सहभागिता रहने उक्त खेलमा प्रथम हुने टिमलाई रु दुई लाख नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई नगद रु एक लाख मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडी, धेरै गोल हान्ने खेलाडी र उत्कृष्ट गोलकिपरलाई जनही रु १० हजार र प्रमाणपत्र प्रदान गरिने परिषद्का महासचिव राजिव पाण्डेले जानकारी दिए ।