मन्त्री श्रेष्ठले बारा क्षेत्र नं ४ को विकास निमार्णमा कुनै राजनीतिक घुसपैठ नहुने बताए

मन्त्री श्रेष्ठले बारा क्षेत्र नं ४ को विकास निमार्णमा कुनै राजनीतिक घुसपैठ नहुने बताए

कहिरन समाचार

पूर्व श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठले बारा क्षेत्र नं ४ को विकास निमार्णमा कुनै राजनीतिक घुसपैठ नहुने बताएका छन् । बाराको जीतपुर सिमरा उपमहानगरपालिका भित्र सडक तथा पार्क शिलान्यास कार्यक्रममा बोल्दै पूर्व श्रममन्त्री श्रेष्ठले बारा क्षेत्र नं ४ ले विकास निमार्णको काममा पछाडी फर्केर हेर्नु नपर्ने बताएका छन् ।

‘खोलामा पुल हाल्ने देखि सयौं पुल, बाटाघाटा, स्कुल निमार्णमा धेरै काम गर्न बाँकी रहेको छ, त्यसको नेतृत्व किसान श्रेष्ठले लिन्छ, गठबन्धनका दलहरुले लिन्छन्’ श्रेष्ठले भने ‘विकास निमार्णको काममा कुनै राजनीतिक घुसपैठ​ नगरीकन बाराको विकासका लागि हामीले ५ अर्बको बजेट शहरी विकास मन्त्रालयमा पेश गरिसकेका छौ’ । तनहुँ क्षेत्र नं १ का संघीय सांसद श्रेष्ठले अगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं ४ बाट उम्मेदवारी दिने निश्चित भएको छ ।

मन्त्री श्रेष्ठले क्षेत्र नं ४ अन्तर्गत पर्ने प्रसौनी, परवानीपुर, फेटा गाउँपालिकाबाट विकास निमार्णका लागि निवेदन आउने क्रम जारी रहेको बताएका छन् । ‘सबै ठाउँको भन्ने बित्तिकै एकै दिन नहोला तर बारा जिल्ला क्षेत्र नं ४ को विकासको लागि बिगुल फुक्यो, यसमा तपाईहरु सबैको सहयोगको अपेक्षा पनि म गर्न चाहन्छु’ उनले भने ‘यहाँको टोल टोल र गाँउ गाउँको विकास गरेर बेरोजगारलाई रोजगारी दिलाउने कुरामा म लाग्ने कुरामा प्रतिवद्धता जनाउँछु ।’

शुक्रवार शहरी विकास मन्त्री मेटमणि चौधरीले पथलैया–वीरगञ्ज औधोगिक करिडोरमा पर्ने गढीमाई मन्दिरको चोकदेखि पूर्वतर्फ रमौली, बसडिल्वा, ईनर्वासिरा बजार, सानो मटिअर्वा, चिनि मिल हुँदै मानवत मटिअर्वा भएर हुलाकी राजमार्ग जीतपुर सिमरा वडा नं ८, १९ र २० जोड्ने सडकखण्ड शिलान्यास गरेका छन् ।

यसैगरी मन्त्री चौधरीले जीतपुरसिमरा ७ स्थित गढीमाई मन्दिरमा पार्क निमार्ण र सिमरास्थित टेलिकम चोकबाट पूर्वतर्फ बिकासशिल चोक, रंगशाला चोक हुँदै एयरपोर्ट रोडको योजना शिलान्यास गरेका हुन् । सघन शहरी विकास कार्यक्रम अन्र्तगत शहरी विकास मन्त्रालयले जीतपुरसिमरा उपमहानगरका लागि छुट्ट्याइएको ५० करोड बजेट भित्रबाटै यि योजनाहरु शिलान्यास भएका हुन् । बहुवर्षीय योजना योजना अन्र्तगत तत्कालै कानुनी प्रक्रिया पुरा गरेर निमार्णको काम शुरु गरिने सघन शहरी कार्यालय विरगञ्जले जनाएको छ ।