मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत पौडेल क्वालालम्पुर प्रस्थान

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत पौडेल क्वालालम्पुर प्रस्थान

कहिरन समाचार

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न क्वालालाम्पुर प्रस्थान गरेका छन्।

पौडेलले मलेसियाका राजा अब्दुल्लाह समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नेछन्।

दुई लाख भन्दा धेरै नेपाली श्रमिक रहेको मलेसियाको नेपाली दूतावास लामो समयदेखि राजदूतविहिन थियो ।

दूतावासको सेवा प्रवाहको क्षमता बढाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने राजदूत पौडेलले बताए।

तलब सुविधा, सीप विकास, आवास, उपयूक्त सूचनाको व्यवस्थालाई थप प्रभावकारी बनाउने तथा श्रमस्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाई अलेखबद्ध भएका श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने उनले बताए।

मलेसियाको बजारमा माग भएअनुसार उपयुक्त सीप तालिम लिइ श्रमिकहरु जाने गरेमा ज्याला र सुविधामा वृद्धि हुने भएकोले त्यसतर्फ प्रयास गरिने उनले बताए।

मलेसियामा विभिन्न पेशामा रहेका नेपालीसँग सहज सम्पर्क स्थापना गर्दै उनीको अधिकतम हित र सुरक्षाका कार्यलाई प्राथमिकता दिने उनले बताए। सन् २०१८ मा भएको श्रम सम्झौता नविकरणलाई पनि उनले प्राथमिकता दिएका छन्।

नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि गर्दै द्विपक्षीय सम्वन्ध बलियो बनाउने बताउँदै उनले नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, नेपाली उत्पादनहरुको मलेसियाका बजारमा प्रवर्द्धन, नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुको पहिचान र सहजीकरण जस्ता कार्यहरुबाट नेपालको अधिकतम हित हुने गरी आर्थिक कुटनीतिमा समेत जोड दिने उनले बताए।

नेपाल-मलेसियाबीच जनस्तरको सम्वन्ध विस्तारलाई समेत प्राथमिकता दिने उनको भनाइ छ ।

पौडेललाई चैत २४, २०७८ मा बसेको मन्त्रिपरिषद्को वैठकले मलेसियाका लागि राजदूत सिफारिस गरेको थियो।

संसदीय सुनुवाई समितिबाट अनुमोदन भई तथा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी उनी मलेसिया प्रस्थान गरेका हुन्। नेपाल र मलेसियाबीच जनवरी १, १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।