कार्यक्रम प्रस्तोताले टाउकोमा स्कार्फ लगाउन मानिनन्, इरानी राष्ट्रपतिको अन्तरवार्ता लिइनन्

कार्यक्रम प्रस्तोताले टाउकोमा स्कार्फ लगाउन मानिनन्, इरानी राष्ट्रपतिको अन्तरवार्ता लिइनन्

कहिरन समाचार

अमेरिकाको प्रमुख समाचार च्यानल सीएनएनकी कार्यक्रम प्रस्तोता क्रिस्टिन एमनपोरले इरानका राष्ट्रपति इब्राहिम रायसीसँगको अन्तरवार्ता रद्द गरेकी छिन् । राष्ट्रपति रइसीले क्रिस्टिनले टाउको छोप्ने स्कार्फ (हेडस्कार्फ) लगाएर अन्तरवार्ता लिउन् भन्ने चाहना राखेपछि उनले अन्तरवार्ता नै रद्द गरिदिइन् ।

एमनपोरले विगतमा कुनै पनि राष्ट्रपतिले इरान बाहिर अन्तरवार्ता गर्दा कसैले पनि उनीबाट यस्तो माग नगरेको बताइन् ।

एमनपोरका अनुसार रईसीका सहयोगीले ‘इरानको हालको अवस्था’ का कारण उनलाई यस्तो गर्न लगाइएको बताए ।

गत शुक्रबार इरानमा हिजाबको नियम नमानेको आरोपमा एक महिलाको प्रहरी हिरासतमा मृत्यु भएको थियो । २२ वर्षीया मेहसा अमिनीको शुक्रबार निधन भएको हो । प्रत्यक्षदर्शीका अनुसार अमिनीलाई अमिनीलाई तेहरानमा पक्राउ गरेपछि प्रहरीले भ्यानमा कुटपिट गरेका थिए । यद्यपि प्रहरीले यी आरोपलाई अस्वीकार गरेको छ ।

इरानमा विरोध प्रदर्शन लगातार बढिरहेको छ र सातौं दिनमा प्रदर्शनको आगो ८० सहरसम्म फैलिएको छ । अधिकारीहरुका अनुसार प्रहरीसँगको झडपमा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

रईसी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका थिए र यो उनको अमेरिकी भूमिमा पहिलो अन्तरवार्ता थियो । एमनपोरले भनिन्, ‘म अन्तरवार्ता लिन तयार थिएँ तर राष्ट्रपतिका एक सहायकमार्फत् रइसीले मलाई कपाल ढाक्न भने । ’

उनले ट्वीटरमा लेखिन्, ‘हामी न्युयोर्कमा छौँ जहाँ हेडस्कार्फ लगाउने न त कुनै नियम छ न परम्परा नै ।’

उनले थपिन्, ‘राष्ट्रपति रइसीका सहयोगीले स्पष्ट रुपमा भनेका थिए कि ‘हेडस्कार्फ नलगाउने हो भने अन्तरवार्ता हुँदैन किनभने यो ‘सम्मानको कुरा’ हो ।’

त्यसपछि क्रिस्टिन एमनपोरको समूह त्यहाँबाट फिर्ता भयो । क्रिस्टिनले यसलाई ‘अभूतपूर्व र अप्रत्याशित स्थिति’ बताइन् ।

इरानमा महिला

सन् १९७९ मा इरानमा इस्लामिक क्रान्तिपछि महिलाले इस्लामी तरिकाले लुगा लगाउनु पर्ने कानुन बनेको थियो । यसपछि महिलाहरूले टाउकोमा स्कार्फ वा हिजाब वा बुर्का लगाउनु आवश्यक भयो ।

हालैका वर्षहरूमा, इरानमा हिजाबको अनिवार्य आवश्यकताको बारेमा धेरै अभियानहरू सुरु गरिएको छ, तर इरानको धार्मिक मामिला पुलिसले ड्रेस कोडको पालना नगरेको आरोपमा धेरै पटक कडा कारबाही गरेको छ, जसको विरुद्धमा विरोध प्रदर्शनहरू भएका छन् ।

यस्तै, इरानको न्यायपालिकाका प्रमुख गुलाम हुसेन मोहसेनी–इजेईले यो अभियानको पछाडि विदेशी शक्ति भएको आरोप लगाए । साथै उनले गुप्तचर एजेन्सीलाई यसको पछाडि को छ त भनेर अनुसन्धान गर्न पनि निर्देशन दिएका थिए ।