दसैंमा घर जान बसपार्कमा अग्रिम टिकट बुकिङ खुला

दसैंमा घर जान बसपार्कमा अग्रिम टिकट बुकिङ खुला

कहिरन समाचार

दसैं, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि शनिबारदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ।

भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दुरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। त्यो निर्णय गरेसँगै आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको हो।

बुकिङ खुलेसँगै आज बिहानै देखि विभिन्न ठाउँमा रहेको टिकट काउन्टरमा यात्रुको भीड लागेको हो। काउन्टरमा लाइन बसेर यात्रुहरूले अग्रिम टिकट लिइरहेका छन्।

अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिद्वारा टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया निरूत्साहित गर्ने, मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायसँग अनुरोध गरी पठाउने तथा दसैंका लागि आवश्यक सवारीसाधनको व्यवस्था यातायात व्यवसायीले गर्ने निर्णय गरिएको थियो।

यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारीसाधन आगामी असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय बैठकले गरेको थियो।

नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले शनिबार बिहान ७ बजेदेखि अग्रिम टिकट बुकिङ खुलेको हो।

उनका अनुसार धेरै गाडी आवतजावत गर्ने ठाउँका सवारीसाधनका लागि अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ भने थोरै गाडी जाने ठाउँमा हालकै काउन्टरबाट व्यवस्थापन गरिएको छ।