एमालेको सरकार नबने देश बर्बादीतर्फ जान्छ : ओली

एमालेको सरकार नबने देश बर्बादीतर्फ जान्छ : ओली

कहिरन समाचार

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले जित्न नसके देश बर्बाद हुने बताएका छन् । सोमबार नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने उद्देश्य पूरा गर्नका लागि एमाले नेतृत्वको सरकार बन्नुपर्ने बताए ।

‘नेकपा एमालेको सरकार मंसिर ४ गतेको निर्वाचनबाट गठन गर्नु अनिवार्य छ,’ उनले भने, ‘यदि एमालेले सरकार बनाउन नसके देश बर्बादीतर्फ जान्छ ।’  पछिल्लो १४ महिनामा गठबन्धनले देशलाई बर्बादीतिर लगेको आरोप उनले लगाए । त्यसैले पनि गठबन्धनलाई अर्को पाँच वर्ष दिन नहुने उनको भनाइ थियो ।

‘एमाले सरकारमा जानका लागि होइन, देश बचाउन, विकास गर्न, सबै ठाउँमा बस्ने जनताको सद्भाव र एकताका लागि एमालेले जित्नुपर्छ,’ उनले भने । शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्ने, कृषिको आधुनिकीकरण गर्ने योजना एमालेले अघि सारेको उनले बताए । उनले भने, ‘आगामी निर्वाचनले सही सरकार दिन सक्नुपर्छ । देश, लोकतन्त्र, विकासप्रति समर्पित सरकार दिन सक्नुपर्छ ।’

गठबन्धनले सबैको भोट संकलन गरेर बहुमत पु¥याउने खेल खेलिरहेको आरोप लगाउँदै उनले पाँच दलीय गठबन्धन देश र जनताका लागि नभएर तिनै दलका नेताहरुका लागि केन्द्रित रहेको बताए । ‘गठबन्धन जोगाउने, गठबन्धन जिताउने, गठबन्धनको सरकार बनाउने अनि गठबन्धनका नेताले बाँडीचुँडी खाने, आफ्नो नातागोता, आफ्नो गुट पोस्ने,’ उनले भने, ‘यो बाहेक अर्को उद्देश्य छैन ।’