अर्जुन ‘यावा’को दुईवटा कृति लोकार्पित

अर्जुन ‘यावा’को दुईवटा कृति लोकार्पित


गान्तोक । अभियान साहित्य समिति, राङ्काले समितिका अध्यक्ष अर्जुन चामलिङ ‘यावा’का दुईवटा कृति लोकार्पण गरेको छ । समितिद्वारा २५ मार्च २०२४ मा राङ्का धजेस्थित रे-मिन्दु जीपीयूको कार्यालयमा समितिका संरक्षक मोहन दुङ्मालीको अध्यक्षतामा पुस्तक लोकार्पण भएको हो ।

लोकार्पण समारोहमा सर्जकका अवकाशप्राप्त ८८ वर्षीय शिक्षक केएम पाण्डे मुख्य अतिथि रहेका थिए भने यावाको बाल्यकालका प्रथम शिक्षक बीएम राई विशिष्ठ अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा सभाध्यक्ष, मुख्य अतिथि, विशिष्ठ अतिथि र अन्य अतिथित्रय सूर्यकुमार राई (पूर्व जिल्ला सदस्य), रूपा तामाङ (हिन्दी साहित्य सेवा समिति, सिक्किमकी संयोजिका) र भक्ति बस्नेत (नेपाली साहित्य परिषदकी उपाध्यक्ष) को बाहुलीद्वारा संयुक्तरूपमा यावाका दुई कृति ‘अनुभूति’ यात्रा संस्मरण र ‘भनेको सुन्नुपर्छ’ नेश्‍नल बुक ट्रस्ट इण्डियाद्वारा प्रकाशित बाल चित्रकथा लोकार्पण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष दुङ्मालीले साहित्यकार अर्जुन चामलिङ ‘यावा’ले राम्रो काम गरेको बताउँदै राङ्कामा अभियान साहित्य समितिको मञ्चले धेरैजनालाई अघि बढ़ाइरहेको उदाहरण पनि दिए । यात्रा संस्मरण लेखनले केवल संस्मरण मात्र नरहेर भोलि त्यो इतिहास बन्नसक्ने बताउँदै ‘अनुभूति’ले पछि त्यस्तै काम गर्ने विश्‍वास व्यक्त गरे ।

यस्तै मुख्य अतिति केएम पाण्डेले वर्तमान मोबाइलको समयमा लेखनमा कसैले ध्यान नदिरहेको बताउँदै लेखिएका कुराहरू नै सधैँ रहनसक्ने उनले बताए । यसैले युवा भाइबहिनीहरू साहित्य सिर्जनामा लागि पर्नुपर्छ भन्दै अभिभावकवर्गले पनि त्यसतर्फ ध्यान दिनुपर्ने विचार व्यक्त गरे ।

यस्तै विशिष्ठ अतिथि बीएम राईले आफ्नो सम्बोधनमा आफ्नो छात्र अर्जुनले साहित्यमा धेरै राम्रो काम गरिरहेको बताए । केदीदिन अघि मात्रै अन्तर्वार्ताको अर्को पुस्तकको तयारीमा लागेको बताउँदै आफूसँग पनि अन्तर्वार्ता मलिन भनेर अचानक आइपुगेको बताउँदै राईले शुभकामना पनि दिए ।

लोकार्पित दुई पुस्तकमध्ये ‘अनुभूति’माथि वरिष्ठ साहित्यकार एवं पत्रकार अर्जुन पीयूषले समीक्षात्मक सम्बोधन राखेका थिए । अहिलेसम्म पाँचवटा पुस्तक प्रकाशित गरिसक्दा यावाको लेखनमा निक्कै नै निखारता आइरहेको उनले बताए ।

उनले अझ भने, ‘अनुभूति’मा यावाले यात्रा संस्मरणमा लेखिनु पर्ने कुराहरू मात्र लेखेका छन् ।’ अहिले यो यात्रा संस्मरण भए पनि पछि इतिहास बन्नसक्ने, एउटा दस्तावेज बन्नसक्ने बताए । यो कृतिमा यावाको लेखनमा सराहना गर्नुपर्ने मुख पक्ष लेखन शैली रहेको पनि साहित्यकार पीयूषले बताए ।

यसअघि सर्जक यावाले आफ्ना कुराहरू राख्दै सन् २०१० देखिको साहित्यिक यात्रालाई यस कृतिमा समावेश गरेको उल्लेख गरेका थिए । सपटक आफ्ना गुरुहरूको बाहुलीद्वारा नै आफ्नो कृति लोकार्पण गर्ने सोचेरै मुख्य अतिथि र विशिष्ठ अतिथिका रूपमा निम्त्याएको बताउँदै उनले यो कृति प्रकाशनको लागि साथ दिने धनश्याम खरेल, दिलीप राई, दिनेश राई, मोहन दुङ्माली, जीविका अश्रु, कृष्ण राई (रोशन पापा), राधा पाण्डे र देव दर्जीप्रति आभार व्यक्त गरेका थिए । उनीहरूको सहयोगै प्रतिफलस्वरूप यो कृति प्रकाशित भएर आज पाठकसम्म पुग्नसकेको पनि यावाले बताए ।

यस्तै सिर्जनात्मक वैचारिक मञ्च, रुम्तेकका महासचिव प्रेम न्यौपानेले छोटो सम्बोधन राखेका थिए । उनले यस प्रकारको साहित्यिक कार्यक्रममा उपस्थित रहँदा हामी साहित्यप्रेमीहरूले आयोजकलाई सहयोग पुर्‍याउने उद्देश्य राखी यथाशक्ति सहयोग गर्ने संस्कृति बसाल्नुपर्ने सुझाउ राखे ।

युवा साहित्यकार निलकमल पाण्डेद्वारा सञ्चालित कार्यक्रममा नवराज पाण्डे, प्रतिक्षा ढकाल, जीविका अश्रु, प्रेम न्यौपाने, रञ्जन ढकाल, रूपा तामाङ, भक्ति बस्नेत र स्वयं निलकमल पाण्डेले कविता तथा गजल वाचन गरेका थिए भने छुम्डेन समिक्षा निर्जातले कथा वाचन गरेका थिए ।