माओवादी बैठकमा कांग्रेस महासमिति समिक्षा, सहकार्यमा प्रश्न

माओवादी बैठकमा कांग्रेस महासमिति समिक्षा, सहकार्यमा प्रश्न


काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र नेपाली कांग्रेससँगको सहकार्य नलम्ब्याउने तयारीमा लागेको छ । आगामी चुनावमा गठबन्धन नगर्ने कांग्रेस महासमिति बैठकको निर्णयले माओवादी सहकार्य नलम्ब्याउने तयारीमा लागेको हो ।

राष्ट्रिय सभा चुनावमा कांग्रेसले धोका दिएको निष्कर्ष निकालेको माओवादीले राष्ट्रियसभा अध्यक्ष पद कांग्रेसलाई नदिने बताएको छ । आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेका स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले अध्यक्ष पद पार्टीले छोड्न नहुने मत राखेको पार्टीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

माओवादी स्थायी कमिटी बैठकमा कांग्रेस महासमितिबारे समिक्षा समेत भएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले प्रस्तुत गर्नु भएको प्रतिवेदनलाई लिएर माओवादी स्थायी कमिटि सदस्यहरुले आलोचना गरेका छन् । आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्ने सम्बन्ध काँग्रेस महासमिति बैठकको निर्णयबारे पनि बैठकमा छलफल भएको प्रवक्ता सापकोटाले सुनाए ।

माओवादी स्थायी समिती बैठक भोलि बिहान साढे ८ बजे फेरी बस्नेछ । आजको बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ ।

यस्तै, प्रवास अन्तर्गत मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई जिम्मेवारी दिइएको छ । विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय कमिटीमा देव गुरुङलाई जिम्मेवारी दिएको छ ।

भोलि प्रधानमन्त्रीसमेत रहेका पार्टीअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएर निर्णय गरेर बैठक समापन गर्ने तयारी छ ।