बिमा भुक्तानी गर्दा डायग्नोसिसअनुसारको परीक्षण र प्रेस्क्रिप्शन अनिवार्य

बिमा भुक्तानी गर्दा डायग्नोसिसअनुसारको परीक्षण र प्रेस्क्रिप्शन अनिवार्य


काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले अबदेखि दाबी भुक्तानी पेश गर्दा डायग्नोसिसअनुसारको अनुसन्धान गरिएको र सोही व्यहोरा उल्लेख भएको प्रेस्क्रिप्शन समावेश गरिएको हुनुपर्ने बताएको छ । बोर्डले सूचना जारी गर्दै भुक्तानीका लागि सबै सेवाप्रदायक स्वास्थ्य संस्थाहरूले बिल पेश गर्दा उक्त प्रेस्क्रिप्शन पनि अनिवार्य पठाउन भनेको हो ।

सूचनामा भनिएको छ‚ ‘सेवा प्रदानपश्चात् सोही ऐन, नियमावली र बीमा दाबी समीक्षा तथा मूल्यांकन कार्यविधि २०७८ अनुसार नै सेवाप्रदायक स्वास्थ्य संस्थाहरूले प्रदान गरेको सेवाको भुक्तानी बिमा बोर्डले गर्छ । तथापि कतिपय सेवाप्रदायक स्वास्थ्य संस्थाहरूले सेवा प्रदान गर्दा ऐन, नियम, सुविधाको थैली र कार्यविधिमा उल्लेख भएका कुरा पालना नगरेको हुनाले दावी मूल्यांकन तथा भुक्तानीमा कठिनाइ हुने हुँदा आगामी दिनमा तल उल्लिखित कुरा पालना गरी सेवा प्रदान गर्न आदेशानुसार अनुरोध छ ।’

यसैगरी अल्ट्रासाउन्डको हकमा तालिम प्राप्त व्यक्ति वा रेडियोलोजिस्टले गरेको हुनुपर्ने भनिएको छ । जुन कर्मचारीको नाम, पद उल्लेख गरेको हुनुपर्ने नियम बनाइएको छ । रिफर गर्दा स्वास्थ्य बिमा नियमावलीमा उल्लेख भएको अनुसूची ९ अनुसारको फारम पूर्ण रूपले भरिएको हुनुपर्ने बोर्डले निर्देशन दिएको छ ।