मिटरब्याज पीडितहरुको खाली खुट्टा हिडेर ‘न्याय मार्च’

मिटरब्याज पीडितहरुको खाली खुट्टा हिडेर ‘न्याय मार्च’


काठमाडौँ । मिटरब्याज पीडितहरुले आज खाली खुट्टा पैदल मार्च गरेका छन् । सरकार गुहार्दै २३ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याजपीडितले खाली खुट्टा पैदल मार्च गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

भृकुटीमण्डपबाट खाली खुट्टा पैदल यात्रा सुरु गरेर भद्रकाली– शहीद गेट, सुन्धारा हुँदै शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको थियो । यसअघि भएको सहमति कार्यन्वयन नभएको भन्दै पीडितहरु विभिन्न मागसहित ९ फागुनमा काठमाडौं आएका हुन् ।

यसैबिच सरकारकी प्रवक्ता रेखा शर्माले मिटरब्याज पीडितहरुको सम्बन्धमा सरकार संवेदनशील रहेको बताएकी छन् । मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सञ्चारमन्त्री शर्माले कानुन बनाउनुका साथै शक्तिशाली आयोग बनाएर मिटरब्याज समस्या सम्बोधन गने प्रयास गरेको बताइन् ।

उनले पीडितहरुलाई काठमाडौंमा आएर दुःख पाउनुको साटो जिल्ला प्रशासनमा जान सुझाव दिएकी छन् ।