सिंहदरबार हिडेका मिटरब्याज पीडितको ‘न्याय मार्च’मा प्रहरीको हस्तक्षेप

सिंहदरबार हिडेका मिटरब्याज पीडितको ‘न्याय मार्च’मा प्रहरीको हस्तक्षेप


काठमाडौँ । न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । आज उनीहरुले त्रिभूवन पार्कबाट हिँड्दै पैदल आएर रत्नपार्कमा प्रदर्शन गरेका हुन् ।

भृकुटीमण्डपबाट सिंहदरबार जाने क्रममा भृकुटीमण्डप क्षेत्रमै प्रहरीले रोकेपछि उनीहरुले सोही स्थानमा सडकमा बसेर बिरोध जनाए । मेची, महाकाली, काठमाडौं पैदल यात्रा सफल पारौँ, पीडितलाई न्याय दे लगायतका नारा लगाएर बिरोध जनाएका छन् । उनीहरु पैदल यात्रा गरेर बुधवार साँझ काठमाडौं आइपुगेका थिए ।

राजधानी केन्द्रीत आन्दोलनमै रहेका लघुवित्त पीडितहरु र प्रहरीबीच भने आज झडप नै भएको छ । बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका आन्दोलनकारीलाई प्रहरीले हस्तक्षेप गर्दा झडपको स्थिति आएको हो ।

सिफल चौरबाट मार्चपास गर्दै बालुवाटार पुगेका लघुवित्त पीडितहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरीले लाठिचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको छ । मुग्लिनबाट सात दिनको पैदलयात्रा गर्दै राजधानी आइपुगेका विभिन्न जिल्लाका लघुवित्त पीडितलहरुले भोलिदेखि प्रधामन्त्री निवास बालुवाटार घेर्ने चेतावनी दिएको छ ।

संसदमा सांसदहरुले पनि आन्दोलनरत मिटरब्याज र लघुबित्त पीडित तथा दूध किसानको माग संबोधन गर्न सरकारसँग माग गर्ने गरेको छन् ।