‘टिआरसी विधेयक अबको पाँच दिनमा संसदमा प्रस्तुत हुन्छ’

‘टिआरसी विधेयक अबको पाँच दिनमा संसदमा प्रस्तुत हुन्छ’


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अबको पाँच दिनमा संसदमा प्रश्तुत हुने बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा आज २३औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपसमितिबाट पारित भएर संसदमा प्रश्तुत गर्ने अन्तिम तयारीमा रहेको बताएका हुन् ।

संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पाउन नसकेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

उनले शान्ति प्रक्रिया पूरै टुंग्याएपछि जनयुद्ध दिवस पुनः मनाइने र बिदा दिइने दाबी गरे । उनले शान्ति प्रक्रियाका बाँकी काम नटुंगिएकै कारण अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा दिन अस्वीकार गरेको तर आफूहरुले मनाएको बताए ।