काँग्रेसले अर्को चुनावसम्म गठबन्धन कायमै राख्ने

काँग्रेसले अर्को चुनावसम्म गठबन्धन कायमै राख्ने


काठमाडौँ । नेपाली कांग्रेसले आउँदो चुनावसम्म गठबन्धन कायम राख्ने निर्णय गरेको छ । ललितपुरको गोदावरीमा ७ गतेबाट शुरु महासमिति बैठकले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

बैठकमा कांग्रेस एक्लै अगाडी बढ्नु पर्ने विषयमा ब्यापक छलफल भएको थियो । महामन्त्री गगन थापाले कांग्रेससहितको सत्ता गठबन्धनलाई निरन्तरता दिने समेत बैठकले निर्णय गरेको निश्कर्ष सुनाएका हुन् ।

बैठकमा प्रस्तुत प्रस्तावहरू केन्द्रीय समिति बैठकले अन्तिम रुप दिनेगरी सर्वसम्मतिले पारित भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव र महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव संशोधनसहित पारित भएका छन् ।

त्यस्तै लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन र अर्थमन्त्री समेत रहेका डा प्रकाशशरण महतले पेस गरेको अर्थसम्बन्धी प्रतिवेदन महासमितिले ग्रहण गरेको छ ।

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेश भएको छ । सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् ।