चीनसँग जोडियो तमोर करिडोर

चीनसँग जोडियो तमोर करिडोर


काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरले नेपाललाई सडक सञ्जालमार्फत चीनसँग जोडेको छ । टिप्ताला नाका हुँदै चीन जोडिने सडक मंगलबार ‘ब्रेक थ्रू’ भएपछि तमोर करिडोर चीनसँग जोडिएको हो। यो करिडोरले दक्षिणमा भारतलाई जोडेको छ ।

चीनले चार वर्षअघि नै समुद्र सतहदेखि पाँच हजार २०० मिटर उचाइमा  टिप्ताला नाका हुँदै  फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोला क्षेत्रमा सडक विस्तार गरेको थियो । ओलाङचुङगाला हुँदै सेराप बगरसम्म चिनियाँ कम्पनीले ‘ट्र्याक’ खोलेको थियो ।  नेपाल र चीनको नाकाबाट नेपालतर्फ ३५ किलोमिटर क्षेत्रमा  ट्रयाक खोलिएको थियो ।

नेपालतर्फ सुनसरीको चतरादेखि खोल्दै लगिएको ट्र्याक यसअगाडि चीनले खोलेको ट्र्याकमा मंगलबार साँझ जोडिएको उत्तर दक्षिण (मूलघाट-दोभान-ओलाङचुङगोला) सडक आयोजनाका प्रमुख अमिन्द्र खड्काले बताए ।

तमोर नदीको उद्गमस्थल तिप्तला नाकाबाट धनकुटाको मूलघाट हुँदै तमोर किनारैकिनार बनेको सडक भारतसँग जोडिन्छ । उत्तर-दक्षिण (मूलघाट-दोभान-ओलाङचुङगोला) सडक आयोजनाअन्तर्गत सञ्चालित सडकको ट्रयाक खोलिएको आयोजना प्रमुख खड्काले बताए । आयोजनाका अनुसार सडक निर्माण काठमाडौंको एसबीए एलाइट जेभीले गरेको हो ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ मात्रै नभएर यो सडकको ट्र्याक खुलेसँगै कोशी प्रदेश चीनसँग सडक सञ्जालले जोडिएको छ । एसबीए एलाइटले तापेथोकदेखि ओलाङचुङगोलासम्मको ट्र्याक खोल्ने ठेक्का ४४ करोडमा लिएको थियो । तापेथोकबाट काम थालेको ६ वर्षमा ट्र्याक खोलिएको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीका अनुसार अब ६ वटा मेसिन लगाएर तिप्तला नाकासम्म यसअघि खुलाएको ट्र्याकलाई मर्मत गरेर वैशाखमा ताप्लेजुङबाट बिदा हुने योजना छ ।

मूलघाट-दोभान-ओलाङचुङगोला सडक सुनसरीको चतरादेखि ओलाङचुङगोलासम्म २३० किलोमिटर छ । ओलाङचुङगोलादेखि तिप्तला नाकासम्मको दूरी २४ किलोमिटर छ । तमोर करिडोरको लम्बाइ २५४ किलोमिटरमा छ । कोशी प्रदेशको राजधानी विराटनगरसँग जोडिएको सीमा नाका जोगवनीबाट सुनसरीको चतरा ५१ किलोमिटरमा टाढा छ ।

२०६५ सालमा तमोर करिडोर निर्माण थालिएको थियो । २०६७ सालमा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको थियो । चीनसँग सडक सञ्जालले जोडिएसँगै ओलोङचुङगोलाका स्थानीय उत्साहित भएका फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुगोलाका वडा सदस्य टासी शेर्पाले बताए ।

सडक जोडिए पनि अगाडि चीनबाट खोल्दै ल्याएको ट्रयाक मर्मतसम्भार गर्न केही समय लाग्ने फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुगोलाका वडाध्यक्ष छेतेन लामाले बताए । ओलाङचुङगोला सडक पुगेसँगै आगामी नयाँ वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य आगमन हुने अपेक्षा गरिएको लामाको भनाइ छ ।