ऋण तिर्नु नपर्ने भ्रम पारेर स्वार्थ समुह खेल्न खोजे : अर्थमन्त्री महत

ऋण तिर्नु नपर्ने भ्रम पारेर स्वार्थ समुह खेल्न खोजे : अर्थमन्त्री महत


काठमाडौँ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले ऋण तिर्नु पर्दैन भन्ने भ्रममा पारेर स्वार्थ समुहले खेल्न खोजेको टिप्पणी गरेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको अभियानले ऋण मिनाहाको आश्वासन देखाउँदै लघुवित्तका ऋणीलाई आन्दोलनमाम सहभागी गराउँदै आएको छ ।

व्यवसायी प्रसाईले आफु नेतृत्वमा पुगे गरिब विपन्नको ऋण मिनाहा गर्ने गरिदिने प्रलोभनमा पार्दै आएका छन् भने वर्तमान सरकारले पनि ऋण मिनाहा गरिदिनुपर्ने आवाज उठाउँदै आएका छन् । तर, अर्थमन्त्री महतले भने लिएको ऋण तिर्न पर्दैन, हामी माफ गरिदिन्छौं भन्दै आशा जगाएर स्वार्थ समुहले खेल्न खोजेको भन्दै ऋण तिर्न नपर्ने भ्रममा नपर्न भनेका छन् ।

शनिबारदेखि काठमाडौंमा शुरु भएको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री महतले बचतकर्ताको बचतबाट लगेको ऋण कदापी मिनाहा नहुने स्पष्ट पारे । लघुवित्तमा देखिएको केही समस्यालाई देखाएर स्वार्थ समुहले खेल्ने प्रयास गरेको भन्दै उनले राजनीतिकरण गर्न खोज्नेलाई सफल हुन नदिने चेतावनी दिए ।

ऋण नतिर्न उक्साउने प्रवृत्तिलाई उनले खतरनाक भनेका छन् । अर्थमन्त्री महतले सरकारसहित लघुवित्तकै सदस्य र बचतकर्ताहरु मिलेर गलत प्रवृत्तिलाई हराउन आह्वान गरेका छन् । ऋण तिर्न पर्दैन भनेर भ्रम फैलाउनेलाई राज्यले सहन नसक्ने समेत अर्थमन्त्री महतको चेतावनी छ ।

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले लघुवित्त क्षेत्र विषम परिस्थितिमा गुज्रिएको समयमा भएको यस सम्मेलनले ठूलो महत्व राख्ने विश्वास लिएका छन् । करिब ६० लाख सदस्यमार्फत गाउँगाउँमा वित्तीय चेतनासँगै लगानी र उद्यमलााई बढवा दिएको यस क्षेत्रलाई सरकारले उपेक्षा गरेको गुनासो अध्यक्ष यादवको छ ।

भोलि आइतबार सम्म सञ्चालन हुने सम्मेलनमा नीतिगत र सरकारी निकायकाप्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, लघुवित्त सदस्य, विज्ञलगायत ८ सय जनाभन्दा बढीको सहभागीता छ ।