हंगेरीका राष्ट्रपतिद्वारा राजीनामा

हंगेरीका राष्ट्रपतिद्वारा राजीनामा

कहिरन

हंगेरीका राष्ट्रपति क्याटालिन नोभाकले बाल यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर भएका व्यक्तिलाई माफी दिएकोमा खेद प्रकट गर्दै राजीनामा दिएकी छन् । गत हप्ता राष्ट्रपति नोभाकले सरकारी बाल गृहका निर्देशकविरुद्ध यौन दुर्व्यवहारको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिने एक व्यक्तिलाई माफी दिएको खुलासा भएको थियो ।

उनको निर्णयको हंगेरीमा विरोध बढ्दै गएको थियो र उनको राजीनामाको माग भइरहेको थियो। नोभाकले टिभीमा प्रत्यक्ष प्रशारण मार्फत आफ्नो निर्णयप्रति खेद प्रकट गर्दै यो माफी दिँदा आफूले गल्ती गरेको बताइन् ।

माफीको यो निर्णयलाई अनुमोदन गर्ने तत्कालीन न्यायमन्त्री जुडित वर्गाले प्रधानमन्त्री भिक्टर ओर्बानको पार्टीको तर्फबाट युरोपेली चुनावको अभियानबाट फिर्ता भएको घोषणा गरेका छन् ।

गत वर्ष अप्रिलमा पोप फ्रान्सिस हंगेरी आएपछि राष्ट्रपति नोभाकले २५ जनाको सजाय माफ गरेकी थिइन् । यी २५ कैदीको नाम गत हप्ता सार्वजनिक गरिएको थियो ।

तीमध्ये बुडापेस्ट नजिकैको बाल गृहका उपनिर्देशकको नाम पनि थियो, जसलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो। उनले बाल गृहका निर्देशकमाथि लगाइएको यौन दुर्व्यवहारको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिएका थिए । यस मुद्दामा निर्देशकलाई पनि आठ वर्षको जेल सजाय सुनाइएको छ ।