अफगानिस्तानविरुद्धको श्रीलंका १० विकेटले विजयी

अफगानिस्तानविरुद्धको श्रीलंका १० विकेटले विजयी

कहिरन

श्रीलंकाले सोमबार सम्पन्न टेस्ट क्रिकेटमा अफगानिस्तानलाई १० विकेटको फराकिलो अन्तरले हराएको छ । यी दुई टोलीबिच खेलिएको एकमात्र टेस्टको पाँचौँ तथा अन्तिम दिन श्रीलंकाले दोस्रो पालीमा कुनै पनि विकेट नगुमाई ५६ रन बनाउँदै विजयलक्ष्य पुरा गरेको हो ।

दोस्रो पालीमा श्रीलंकाका लागि दिमुथ करुणारत्नेले अविजित ३२ र निशान मदुसकाले अविजित २२ रन बनाए । श्रीलंकाले ७.२ ओभरमै विजयलक्ष्य पुरा गरेको हो । त्यसअघि अफगानिस्तानको टोली आफ्नो दोस्रो पालीमा दुई सय ९६ रन बनाउँदै अलआउट भएको थियो ।

अफगानिस्तानका लागि दोस्रो पालीमा ओपनर इब्राहिम जदरानले शतक बनाएका थिए । उनले एक सय १४ रन बनाएका थिए । उनले दुई सय ५९ बलको सामना गरी १२ चौका पनि हिर्काएका थिए । रहमत शाहले पनि अर्धशतकीय पाली खेलेका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान रहमत शाहले एक सय १९ बलको सामना गरी पाँच चौकाको मद्दतले ५४ रन बनाए । ओपनर नुर अली जदरानले पनि टोलीको खातामा ४७ रन थपेका थिए । नासिर जमालले अविजित ४१ रन बनाए ।

श्रीलंकाली टोलीका बलर प्रभात जयसूर्या एक्लैले पाँच विकेट हात पारे । उनले ४७ ओभरमा १० मेडन राख्दै एक सय सात रन खर्चिएका थिए । आसिथ फर्नान्डोले तीन विकेट लिए । कसुन रजिथाले पनि दुई विकेट हात पारेका थिए ।

त्यसअघि श्रीलंकाले आफ्नो पहिलो पालीमा चार सय ३९ रनको विशाल योगफल तयार पारेको थियो । पहिलो पालीमा श्रीलंकाका लागि दुई ब्याट्सम्यानले शतक बनाए । चौथो नम्बरका ब्याट्सम्यान एन्जेलो म्याथ्यूजले एक सय ४१ र पाँचौँ नम्बरका ब्याट्सम्यान दिनेश चण्डिमलले एक सय सात रन बनाएका थिए ।

ओपनर ब्याट्सम्यान दिमुथ करुणारत्नेले पनि टोलीको खातामा ७७ रन थपेका थिए । अर्का ओपनर निशान मदुशकाले ३७ रन बटुलेका थिए । अफगानिस्तानका बलर नाविद जदरानले चार विकेट लिए । निजात मसुद र क्वाइस अहमदले दुई–दुई विकेट हात पारे ।

त्यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले आफ्नो पहिलो पालीमा एक सय ९८ रनमात्र बनाउन सकेको थियो । अफगानिस्तानका लागि पहिलो पालीमा रहमत शाहले ९१ रन बनाएका थिए ।

श्रीलंकाली टोलीका बलर विश्वा फर्नान्डो चार तथा अशिथा फर्नान्डो र प्रभात जयसूर्याले तीन–तीन विकेट लिएका थिए । प्रभात जयसूर्या प्लेयर अफ दी म्याच घोषित भए । उक्त टेस्ट श्रीलंकाको राजधानी सहर कोलम्बोमा खेलिएको थियो ।