नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्युको कारक क्यान्सर

नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्युको कारक क्यान्सर


काठमाडौं । नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको छ । विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो ।

२०२० को तथ्यांकअनुसार जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्रीअनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत बढी रहेको मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देश्क डा. रुद्रप्रसाद मरासिनीले फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा बढी मृत्यु हुने गरेको बताए ।

उनले नेपालमा प्रत्येक वर्ष करिब २० हजार जनाभन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गरेको बताए । २०२० मा क्यान्सरकै कारणले नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो ।

नेपालमा देखिएका मुख्य क्यान्सरहरुमा फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सहरु छन् ।

अहिले २० हजार नयाँ केसको डिटेक्शन भएको र १६ हजार मृत्यु भएको उनले बताए । उनका अनुसार पुरुष र महिलाको तुलना गर्दा पुरुषमा फोक्सोको क्यान्सर, आमाशयको क्यान्सर, मुख तथ मुखजन्य क्यान्सर र अन्य क्यान्सरहरु बढी देखिन्छ भने महिलाको हकमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ ।

उनले भने, ‘अहिले क्यान्सरको विश्वभर मृत्युको प्रमुख कारणमा एक हो । अहिलेको ग्लोवल डाटा हेर्नुपर्दा ६ जनामा एक जनाको मृत्यु क्यान्सरबाट भएको देखिन्छ। एकतिहाई कारक तत्वहरुमाध्ये सुर्तिजन्य पदार्थको प्रयोग, मद्यपानको प्रयोग, शारीरिक निष्क्रियता रहेको छ । नेपालमा कुल मृत्युको ११।११ प्रतिशत हिस्सा क्यान्सरले लिएको छ ।’

अहिले क्यान्सर विश्वभर मृत्युको प्रमुख कारणमा एक हो । विश्वको तथ्यांकअनुसार प्रत्येक ६ जनामा एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ ।

एकतिहाइ कारक तत्वहरुमाध्ये सुर्तीजन्य पदार्थको प्रयोग, मद्यपानको प्रयोग, शारीरिक निष्क्रियता रहेको छ ।