७२ वटा भैँसी पालेका छन्, महिनामा कमाउँछन् झन्डै डेढ लाख

७२ वटा भैँसी पालेका छन्, महिनामा कमाउँछन् झन्डै डेढ लाख

कहिरन

दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवका परिवारले पुस्तौंदेखि भैँसीपालन गर्दै आइरहेको छ।टिकाराम भैँसीपालनलाई आफ्नो पुर्ख्यौली पेसा नै मान्छन्।

अहिले यसलाई व्यावसायिक बनाएका छन्। अहिले उनको फार्ममा साना ठूला ७२ वटा भैँसी छन्। तीमध्ये १७ वटा भैँसीले दूध दिन्छन्। दैनिक ६० देखि ७० लिटर दूध बिक्री गर्ने टिकाराम बताउँछन्।

दुध,दही र घ्यू बेचेर मासिक डेढ लाख आम्दानी हुने उनले बताए।

टीकारामको परिवार सामूहिक हो। परिवारमा २३ जना छन्।  ७२ वटा भैँसीको स्याहारसुसार र दानापानीका लागि परिवारकै सदस्य खटिन्छन्।

टीकाराम दूध दुहुन्छन्। उनका भाई टेकबहादुर लमही बजारसम्म दूध लगेर बेच्छन्।

दूध, दही, घिउ बेचेर आम्दानी हुने रकममध्ये आधा भैँसीकै दानापानीमा सक्किने टीकाराम बताउँछन्।

बँचेको रकमबाट घरखर्च चलाउने र केही रकम बचत हुने टीकारामले बताए। बचत गरेको रकमले जग्गाजमिन पनि जोडेको उनी बताउँछन्।

टीकाराम केही समय वैदेशिक रोजगारका लागि विदेश समेत पुगेका थिए।

‘विदेशमा १२ घण्टा दैनिक काम गर्दा महिनामा ६०/७० हजारसम्म कमाई हुन्थ्यो, त्यो कमाइमा विदेशमा बसिरहन मनले मानेन र एक वर्षमै फर्किएँ,’ उनले भने।

विदेशबाट फर्किएपछि भैँसी थप गरेर त्यसकै हेरचाहमा खटिन थाले। उनी गाउँभरिमै सबैभन्दा बढी भैँसी पाल्ने किसान हुन्।

अहिले उनी वैदेशिक रोजगारमा काम गरेकोभन्दा सन्तुष्ट छन्।

‘विदेशमा दिनमा १२ घण्टासम्म काम गर्नेले आफ्नो ठाउँमा पनि त्यहीअनुसार मेहनत गर्न सके कमाई गर्न सकिन्छ,’ उनले भने। त्यसका लागि आत्मविश्वास र दृढ संकल्प भने आवश्यक रहेको उनले बताए।

पशुपालनार्फत स्वदेशमै भविष्य खोज्ने युवाहरूलाई सरकारले प्रोत्साहन गर्नुपर्ने उनले बताए। आफूले पनि सरकारबाट केही सहयोग नपाएको गुनासो गरे।