शिवराज श्रेष्ठ अदालतमा हाजिर

शिवराज श्रेष्ठ अदालतमा हाजिर

कहिरन समाचार

निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहबाट जायजन्म भएको बालकको सम्बन्धमा डीएनए टेष्ट गर्न आरोपित शिवराज श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक हजार धरौटीमा रिहा भएलगत्तै बिहीबार उनी उच्च अदालत पुगेका हुन् ।यसअघि उच्च अदालत जनकपुरले निहारिका राजपुतको माग बमोजिम नै उनीबाट जायजन्म भएको बालक र आरोपित शिवराज श्रेष्ठको डीएनए टेष्टको माग गरेकी थिइन् । निहारिकाको माग बमोजिम अदालतले दुवैको डीएनए टेष्ट गराउने आदेश दिएको थियो ।
निहारिकाले आफूमाथि श्रेष्ठले जबरजस्ती करणी गरी बालकको जायजन्म भएको माग गर्दै आएकी छिन् भने आरोपित श्रेष्ठले आफूहरूबीच माया–प्रेम रहेको र सोही समयमा सहमतिमै यौनसम्बन्ध भएको बताएका छन् । धनुषा जिल्ला अदालतले पनि जबरजस्ती करणीको कसुरमा शिवराजलाई सफाई दिँदै नाता कायमका लागि अर्कै मुद्दा लिएर आउन भनेको थियो ।

निहारिकाले भने आफूमाथि बलात्कार नै भएको भन्दै आरोपितलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेकी छिन् । जिल्ला अदालतले आफूलाई हराइदिएपछि निहारिकाले न्यायालय र न्यायाधीशमाथि पनि विभिन्न आरोप लगाएकी थिइन् । त्यसपछि सरकारी वकिल पुनरावेदनको मुद्दा लिएर उच्च अदालत गएको थियो ।