मानवअधिकार उल्लंघनका दोषीहरुको नाम सार्वजनिक

मानवअधिकार उल्लंघनका दोषीहरुको नाम सार्वजनिक


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस कार्यन्वयन अवस्थामा सुधार आउन नसकेको बताएको छ । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मानवअधिकार उल्लंघन तथा दुरुत्साहनका ५८ उजुरी आयोगमा दर्ता भएका छन् ।

अघिल्लो आर्थिक वर्षमा पनि दर्ता भएर अनुसन्धान हुन बाँकी रहेका ११७ उजुरीमाथि उजुरी सकिँदा ४४ वटामा अन्तिम निर्णय भएको छ । ३७ उजुरीमा कारबाही तथा क्षतिपुर्तिको लागि सिफारिस भएको छ भने ७ वटा उजुरी तामेली तथा खारेज गर्ने निर्णय आयोगले गरेको छ ।

सिफारिस भएका ३७ उजुरीमा २१ जना पीडितलाई १४ लाख ७० हजार रुपैंया क्षतिपुर्ति दिन र १२ जनालाई कारबाही गर्न भनिएको छ ।

आयोगले कारबाहीका लागि सिफारिस गरिएका मानव अधिकार उल्लंघनका दोषीहरुको नामावली नै सार्वजनिक गरेको छ । जसमा नेपाल प्रहरीतर्फ प्रहरी जवान देखि प्रहरी उपरीक्षकसम्मका ३२ जना छन् । राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरी बलका १ /१ जना र नेपाली सेनाका चार जना मानव अधिकार उल्लंघनका दोषीहरु रहेका आयोगले जनाएको छ ।

यस्तै, निजामति कर्मचारी तर्फ १२ जना छन् । जसमा प्रमुख जिल्ला अधिकारी, कारागार प्रमुख, नायब सुब्बा लगायत दोषी देखिएका छन् । तत्कालीन नेकपा माओवादीका १० जना नेता कार्यकर्ता मानव अधिकार उल्लंघनमा दोषी देखिएको बताएको आयोगले सिफारिस गरेका ६६ मध्ये ६ जनालाई कारबाही भएको भन्दै नाम सार्वजनिक गरेको छ ।