सरकार रुग्ण अवस्थाका ७ उद्योग संचालनको तयारीमा

सरकार रुग्ण अवस्थाका ७ उद्योग संचालनको तयारीमा

कहिरन समाचार

सरकारले रुग्ण अवस्थामा रहेका ७ उद्योग संचालनको तयारी गरेको छ । संचालनमा हुन नसके पनि बन्द गरिनसकिएका सरकारी लगानीका ७ रुग्ण उद्योग संचालनको तयारी गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुग्ण अवस्थाका ७ उद्योग संचालनको तयारी भएको जानकारी दिए । आफूले मन्त्रालयको कार्यभार सम्हालेको ५ महिनामा भएका मुख्य कार्यको प्रगति सार्वजनिक गर्दै मन्त्री बडूले रुग्ण उद्योग संचालनको तयारी भएको जानकारी दिएका हुन् ।रुग्ण अवस्थामा रहेका उद्योग पुनः संचालन र व्यवस्थापनको लागि एक कार्यदल नै गठन गरेको थियो । सो कार्यदलले रुग्ण उद्योगहरु संचालनको लागि विकल्प सहितको संचालन मोडालिटी प्रस्ताव गरेको थियो । सो प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको र मन्त्रिपरिषदले पनि पारित गरिसकेको मन्त्री बडूले जानकारी दिए । सरकारले यसै वर्षदेखि रुग्ण अवस्थामा उद्योग संचालनको गृहकार्य गरेको छ ।

‘रुग्ण उद्योगहरूको पुनःसञ्चालन र व्यवस्थापनका सम्बन्धमा गठित कार्यदलले विभिन्न ७ वटा रुग्ण उद्योगहरूको सञ्चालनको लागि विकल्प सहितको सञ्चालन मोडालिटी तयार गरी मन्त्रिपरिषद्बाट पारित गराई यसै वर्ष वन्द उद्योग सञ्चालन गर्ने गरी अर्थ मन्त्रालयको निजीकरण इकाइमा पेश गरिएको छ,’ मन्त्री बडूले भने ।

सरकारले रुग्ण अवस्थामा रहेका गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, नेपाल ओरियन्ड एण्ड म्याग्नेसाइट प्रालि, नेपाल मेटल कम्पनी लि, बुटवल धागो कारखाना, विराटनगर जुट मिल र हेटौडा कपडा उद्योग संचालनको तयारी गरेको हो ।