धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी नियुक्ति र बढुवा लोकसेवाबाट गर्न अल्पकालीन आदेश

धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी नियुक्ति र बढुवा लोकसेवाबाट गर्न अल्पकालीन आदेश


काठमाडौँ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी बढुवाको विवाद कायमै छ । बढुवा प्रक्रिया अगाडी बढाउनु पर्ने काम राख्दै प्रतिष्ठानका चिकित्सक र कर्मचारीहरु लामो समयदेखि आन्दोलित बने पनि समस्याको समाधान हुन सकेको छैन ।

झण्डै एक महिनादेखिको चिकित्सकहरुको आन्दोनले प्रतिष्ठानको सेवा प्रभावित हुँदै आएको छ । कर्मचारी आन्दोलित बनेपछि स्वास्थ्यमन्त्रीसँग छलफल गर्न प्रतिष्ठानका पदाधिकारी काठमाडौं आए पनि सफल हुन सकेन । चिकित्सक र कर्मचारीहरुले भने बढुवा प्रक्रिया अगाडी बढ्न नसक्नुमा कामु उपकुलपति प्राध्यापक डा.प्रह्लाद कार्कीलाई दोष लगाएका छन् ।

कर्मचारीहरु आन्दोलित बनिरहेका बेला दायर रिटमा उच्च अदालत विराटनगरले भने प्रतिष्ठानमा अब कर्मचारी नियुक्ति र बढुवा लोकसेवाबाट गर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले माघ १७ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

आन्दोलनका संयोजक डा.शेरज खानले त्यतिनजेलसम्म आफूहरुको आन्दोलन जारी राख्ने र छलफलपछि थप निर्णय गरिने बताए । उनले उपकुलपतिको षड्यन्त्रले नै यो विषय अदालतसम्म पुगेको पनि आरोप लगाए ।

लोक सेवाको निर्देशनअनुसार नयाँ नियमावली ल्याएर मात्रै बढुवा प्रक्रिया अगाडि बढाउनुपर्ने अडानमा रहेका कामु उपकुलपति कार्की भने झण्डै एक महिनादेखि कार्यालयमा उपस्थित भएका छैनन् ।