प्रधानमन्त्री कपमा पुलिस लगातार ६ खेलमा विजयी

प्रधानमन्त्री कपमा पुलिस लगातार ६ खेलमा विजयी

कहिरन

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार ६ खेलमा जित निकालेको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा शीर्ष स्थानको पुलिसले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो।

कर्णालीले दिएको १७२ रनको लक्ष्य पुलिसले ४ विकेटको क्षतिमा २३.४ ओभरमा पूरा गर्‍यो। पुलिसका लागि ओपनर दिलिप नाथ नटआउट ७५ रन जोडे। उनले ६२ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। कुशल भुर्तेल ४३ रनमा आउट भए। अमित श्रेष्ठ १ रनमा पेभिलिन फर्कदा कप्तान दीपन्द्रसिंह ऐरी ३४ रन बनाए।

बलिङमा कर्णालीका प्रकास जैसीले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ४२.५ ओभरमा १७१ रनमा अलआउट भयो। उसका लागि कप्तान रविन्द्र शाहीले ४० रन र निश्चल रावलले ५० रन बनाए।

बलिङमा पुलिसका सागर ढकालले ३ विकेट लिए भने ललित राजवंशीले २ विकेट आफ्नो नाममा लेखाए।