यू–१९ विश्वकप: नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित

यू–१९ विश्वकप: नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित


काठमाडौँ । आइसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग हारेको छ । बुधबार भएको खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले हारेको हो ।

नेपालको यो लगातार दोस्रो हार हो । इस्ट लण्डनमा नेपालले दिएको १९८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४७ ओभर ४ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

पाकिस्तानका लागि अजन आविसले ६३ रनको अर्धशतकीय पारी खेले । ८२ बल खेलेका उनले ६ चौका प्रहार गरे । सम्यल हुसेन र साजिव खानले ३७–३७ रनको योगदान गरे । त्यस्तै अहमद हसनले २९ रन बनाउँदा हरोन अर्सादले १५ रनको योगदान गरे ।

नेपालका लागि आकाश चन्दले तीन विकेट लिँदा दिपेश कडेल र आकाश त्रिपाठीले एक/एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल यू–१९ ले निर्धारित ५० ओभरमा अल आउट हुँदै १९७ रन बनाएको थियो ।

नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै दीपक डुम्ररे २६ रन बनाउँदा कप्तान देव खनालले २३ रन बनाए । नेपालका सुवास भण्डारीले २० रन बनाउँदा आकाश चन्दले १६ रन जोडे ।

पाकिस्तानका लागि अर्फाद मिन्हासले तीन विकेट लिँदा उबैद शाह र अहमेद हुसेनले दुई/दुई विकेट लिए ।