न्युजिल्यान्डविरुद्ध पाकिस्तानको जित

न्युजिल्यान्डविरुद्ध पाकिस्तानको जित

कहिरन

न्युजिल्यान्डविरुद्धको पाँचौँ तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भ्रमणकारी टोली पाकिस्तानले सान्त्वना जित हासिल गरेको छ । क्राइस्ट चर्चमा आइतबार खेलिएको पाँचौँ खेलमा पाकिस्तानले घरेलु टोली न्युजिल्यान्डलाई ४२ रनले पराजित गरेको हो ।

पाँच खेलमा टी–२० खेल भने न्युजिल्यान्डले ४–१ ले जितेको छ । यसअघि खेलिएका चारवटै खेलमा न्युजिल्यान्डले सफलता हात पारेको थियो । पाँचौँ खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको पाकिस्तानले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले भने १७.२ ओभरमै अलआउट हुनुअघि ९२ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ३८ रनको योगदान गरे । उनले ३८ बलकै सामना गरी चार चौका पनि हिर्काए ।

फाखर जामनले पनि टोलीको खातामा ३३ रन थपे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल १६ बलको सामना गरी चार छक्का र एक चौका हिर्काए । साहिबजादा फरहानले टोलीको खातामा १९ रन थपे । अब्बास अफरिदी १४ रनमा अविजित रहे । बाबर आजमले पनि १३ रन बनाए ।

किविज बलर टिम साउथी, म्याट हेनरी, लोकी फर्गुसन र इश सोढीले दुई–दुई विकेट लिए । जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक २६ रन बनाए । ओपनर फिन एलनले पनि २२ रन बनाए ।

न्युजिल्यान्डले अतिरिक्त रुपमा एक रनमात्र पाएको थियो । पाकिस्तानका बलर इफ्तिखार अहमदले तीन तथा साहिन शाह अफरिदी र मोहम्मद नवाजले पनि दुई–दुई विकेट हात पारे । जामन खान र उसमा मिरले पनि एक–एक विकेट लिए ।