एएफसी एसिया कप फुटबलमा जोर्डनले जित

एएफसी एसिया कप फुटबलमा जोर्डनले जित

कहिरन

एएफसी एसिया कप फुटबलमा जोर्डनले शानदार जित निकालेको छ । कतारमा जारी प्रतियोगिता अन्तर्गत सोमबार राति भएको खेलमा जोर्डनले मलेसियाविरुद्ध ४–० को एकतर्फी जित निकालेको हो ।

जोर्डनका लागि महमूद नयेफ अहमद र मोउसा मुहम्मदले समान दुई -दुई गोल गरेका थिए । सुरुदेखि नै मलेसियाविरुद्ध हाबी भएको जोर्डनले १२ औँ मिनेटमा गोलको खाता खोलेको थियो । त्यसपछि जोर्डनका महमूद नयेफले गोल गर्दै अग्रता दिलाएका थिए ।

मलेसियाका खेलाडीले गल्ती गर्दा पाएको पेनाल्टीमा जोर्डनका मोउसा मुहम्मदले गोल गरेपछि अग्रता दोब्बर भएको थियो । ३२ औँ मिनेटमा महमूदले व्यक्तिगत दोस्रो गोल गर्दा जोर्डन पहिलो हाफमै ३–० को सहज अवस्थामा पुगेको थियो ।

८५ औँ मिनेटमा मोउसाले पनि व्यक्तिगत दोस्रो गोल गर्दा जोर्डन ४–० को सहज जितका साथ प्रतियोगिता सुरुआत गरेको छ । समूह ईमा जोर्डन शीर्ष स्थानमा रहँदा दक्षिण कोरिया दोस्रो स्थानमा छ । बहराइन र मलेसिया भने क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।