संसदको हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी

संसदको हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी


काठमाडौँ । सरकारले संघिय संसदको हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी थालेको छ ।

शुक्रवार ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ लाई प्रतिस्थापन गर्नेगरी तर्जुमा हुँदै गरेको नयाँ नीति र विधेयकको मस्यौदाबारे भएको छलफलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आगामी हिउँदे अधिवेशन माघको तेस्रो साताबाट बोलाउने तयारी थालेको बताएकी हुन् ।

‘फिल्मसम्बन्धी विधेयक अहिले हामीले अर्थ र कानून मन्त्रालयमा सैद्धान्तिक स्वीकृतिका लागि पत्र पठाइसकेका छौँ । त्यो स्वीकृति भएर आउने क्रम जारी छ । हामी आउने अधिवेशन माघको १८ वा २० तिरबाट अधिवेशन शुरु हुन्छ‚’ उनले भनिन्, ‘संसद अधिवेशनमा पेश गर्ने गरेर हामीले यो फिल्मसम्बन्धी ऐन बनाएर पठाउने तयारीमा छौँ ।’

उनले आगामी संसद अधिवेशनमा पेश गर्नेगरी सरकारले फिल्मसम्बन्धी ऐनको पनि तयारी गरिरहेको बताइन् ।

उनले नेपाली फिल्म राम्रो बनाइ विदेशी फिल्मसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था भएकाले फिल्मको गुणस्तरीयतामा ध्यान दिन आग्रह गरिन् । उनले नेपाली फिल्म विदेशी फिल्मसँग प्रतिष्पर्धा गर्न योग्य बनाउनुपर्ने बताइन् ।

‘नेपाली फिल्मलाई राम्रो बनाइ विदेशी फिल्मसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था छ । विदेशी फिल्मसँग प्रतिष्पर्धा गर्न योग्य हाम्रा फिल्म बनाउनुपर्नेछ‚’ उनले भनिन्‚ ‘गुणस्तरीयतामा हामीले विशेष ध्यान दिनुपर्छ । राज्यले पनि स्वदेशी फिल्मको प्रमोसनका लागि के गर्दा फाइदा हुन्छ, त्यसमा बढी ध्यान दिनुपर्छ ।’