कार्यदलले अझै टुंग्याएन सिट बाँडफाँट

कार्यदलले अझै टुंग्याएन सिट बाँडफाँट

कहिरन समाचार

सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको ११ सदस्यीय कार्यदल बैठकले मंगलबार बेलुकी सिट बाँडफाँटबारे सहमति गर्दै प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने भने पनि अझै सिट बाँडफाँट टुंगोमा पुगेको छैन।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ करिब तीन घन्टा कार्यदलबीच छलफल भएको थियो। १६५ निर्वाचन क्षेत्र कहाँ को बलियो छ भन्ने मतसहित क्षेत्र, क्षेत्र गरी छलफल र विश्लेषण भएका थिए।

कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले केही विषय टुंग्याउन बाँकी रहेकोले बुधबार पनि छलफल गरिने बताए। उनकाअनुसार बुधबार कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई दिने तयारी गरेको छ।

सिट बाँडफाँटबारे सहमतिनजिक पुगेको र कार्यदलका तर्फबाट सकेसम्म छिट्टै शीर्ष नेतृत्वलाई सो प्रतिवेदन बुझाइने उनले बताए।

दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको उनको भनाइ थियो।

कार्यदलको बैठक बुधबार अपरान्ह साँझ ५ बजे बालुवाटारमा फेरि बस्दैछ।

गठबन्धनमा आबद्ध दलहरूले आगामी मंसिर ४ मा हुने निर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उक्त कार्यदलको संयोजक छन्।

कांग्रेसबाट महामन्त्री गगन थापा र मन्त्री कार्की, नेकपा माओवादी केन्द्रबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव वर्षमान पुन कार्यदल सदस्य छन्।

साथै नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जसपाबाट नेता रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट नेता हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा सदस्य छन्।

विवाद भएका ठाउँमा शीर्ष नेताबाट समाधान गर्ने गरी कार्यदलले प्रतिवेदन बुझाउने तयारी गरेका हुन्।