दलहरूले धेरै सिट मागेपछि गठबन्धनको बैठक निष्कर्षविहीन

दलहरूले धेरै सिट मागेपछि गठबन्धनको बैठक निष्कर्षविहीन


काठमाडौँ । राष्ट्रियसभामा रिक्त्त हुने १९ सिटको बाँडफाँड गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । दलहरुले धेरै सिट दाबी गरेपछि बैठक बिना निष्कर्ष सकिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, नागरिक उन्मुक्तिलगायत सत्तारुढ दलहरू सहभागी थिए ।

‘प्रमुख दलले बढी सिट दाबी गरेपछि बैठक निष्कर्षमा पुग्न सकेन,’ जनमत पार्टीका अध्यक्ष सिके राउनले भने, ‘कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाबीच मुख्यगरी कुरा मिलेन ।’ उनले जनमतले पनि एक सिट दाबी गरेको जानकारी दिए ।

कांग्रेसले १०, माओवादीले ७, एकीकृत समाजवादी र जसपाले कम्तीमा ३/३ सिट दावी गर्दै आएका छन् । क्लस्टरका आधारमा दलहरूले सिट बाँडफाँड गर्ने तयारी गरेका थिए ।

राष्ट्रियसभाको उम्मेदवारका लागि कांग्रेसबाट डेढ सय र माओवादीबाट दुई सयजनाको नाम सिफारिस भएको छ । दलहरूले बढी सिट दावी गर्दा बाँडफाँडमा ​ढिलाइ भएको हो । आज बिहान बसेको गठबन्धन बैठकमा साझा उम्मेदवार उठाउने निर्णय भएको थियो ।

गठबन्धन र एमालेबीच सहकार्य गर्ने प्रयास असफल भएपछि गठबन्धन र एमालेले छुट्टाछुट्टै उम्मेदवार बनाउने तयारी गरेका छन् ।

माघ ११ गते हुने निर्वाचनका लागि पुस २३ गते मनोनयन दर्ता गर्ने तालिका रहेको छ ।