बरहथवा घटनाः मृतकका परिवारलाई दश लाख दिइने‚ छानबिन समिति गठन

बरहथवा घटनाः मृतकका परिवारलाई दश लाख दिइने‚ छानबिन समिति गठन


सर्लाही । संघीय सरकारले सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा हिजो भएको झडपमा ज्यान गुमाएका युवाको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र, बरहथवालाई स्तरोन्नति गर्ने वा नगर्ने भन्ने विषयमा भएको प्रदर्शनमा ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो ।

उक्त घटनाबारे गृह मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जलि र परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै घटनाको छानबिनका लागि छानबिन समिति गठन गरेको छ । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

छानबिन समितिमा गृह सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा केहीबेरअघि भएको सर्वदलीय बैठकले मृतकको शव व्यवस्थापन गर्ने, गोली चलेको घटनामा प्रहरी दोषी देखिए कारबाही गर्ने, मृतकप्रति समवेदना व्यक्त गर्ने, प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारीले घटनास्थलको स्थलगत निरीक्षण गर्ने निर्णय गरेको छ ।

बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्यकेन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गर्ने विवादले हिजोदेखि बरहथवा बजार अशान्त बनेको छ । नेपाली काँग्रेस, जसपा, जनमत, लोसपा र बहुजन एकता पार्टी, उद्योग वाणिज्य संघ बरहथवा, स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गरी ५० शय्याको बनाउनुपर्ने पक्षमा छन् । नगरप्रमुख कल्पनाकुमारी कटुवालसहित नेकपा एमाले स्वास्थ्यकेन्द्र हस्तान्तरण नगर्ने अडानमा हुँदा विवादले उग्र रुप लिएको हो ।

गत असोज ९ गते नगर कार्यपालिकाले स्वास्थ्यकेन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेकोमा पुस १८ गते बसेको कार्यपालिका बैठकले उक्त निर्णय तत्काललाई स्थगित गर्ने निर्णय गरेपछि विवाद चर्किएको हो । प्रदर्शन चर्किएपछि बरहथवा बजार क्षेत्रमा जिल्ला तथा प्रदेशबाट समेत थप मद्दत टोली मगाएर व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

मृतकका आफन्तसहित स्थानीयले अहिले पनि प्रदर्शन गरिरहेका छन् । प्रहरीको गोली लागेर मृत्यु भएका साहको शव अझै घटनास्थलबाट उठेको छैन ।

स्थानीयले घटनाको छानबिन, मृतकको शालिक निर्माण, दोषी प्रहरीलाई कारबाही सहितको माग राखेर २४ घण्टादेखि शव उठाउन नदिएका हुन् । केही माग सम्बोधन गर्ने निर्णय भए पनि स्थानीयले सहमति जनाएका छैनन् ।

स्थानीयले आज बिहानैदेखि टायरबालेर प्रदर्शन गरेका हुन् । तनावका कारण आज बरहथवा बजार बन्द छ भने नयाँरोड–बरहथवा सडक खण्डमा सवारीसाधन ठप्प भएको छ ।