पर्यटनमन्त्रीपछि विवादमा श्रममन्त्री

पर्यटनमन्त्रीपछि विवादमा श्रममन्त्री

कहिरन समाचार

सेक्युरिटी गार्डलाई पक्राउ गर्न लगाएको भनेर पर्यटनमन्त्री जीवनराम श्रेष्ठ आलोचित भइरहेका बेला अर्का मन्त्री पनि विवादमा तानिएका छन् । पर्यटनमन्त्री श्रेष्ठपछि  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर विवादमा तानिएका हुन् । विवादित व्यक्तिको बर्थ डे मनाउने कार्यक्रममा सहभागी भएको भन्दै श्रममन्त्रीको आलोचना भइरहेकाे हो ।  १९ भदौमा एभरेष्ट स्प्रिङ वाटर कम्पनीको उद्घाटन गर्न उनी दरबारमार्गस्थित होटल याक एण्ड यति प्रमुख अतिथिको रूपमा सहभागी थिए ।

उनले उक्त कम्पनीको उद्घाटन गरे । उद्घाटन गरेलगत्तै कम्पनीकै सञ्चालकको जन्मदिन थियो । उनको जन्मदिनको केक पनि काटे । तर सोही केक कटाइले उनलाई विवादमा तान्ने काम गरेको हो ।  हीरा लुटपाटमा संलग्न रहेको आरोप लागेका विवादित व्यक्ति सुजन आचार्यको जन्मदिनमा मन्त्रीले केक काटेको भन्दै चौतर्फी विरोध भइरहेको हो ।

यसैबीच उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको मन्त्रीको सचिवालयले जनाएको छ । पानी कम्पनीको उद्घाटनका लागि आमन्त्रण गरिएको र बर्थ डेबारे केही जानकारी नदिइएको सचिवालयले दाबी गरेको छ ।

प्रेस संयोजक रमा खड्काले जारी गरेको विज्ञप्तिमा जन्मदिनबारे पूर्ण सूचना नभएको उल्लेख गरिएको छ । संस्थाको कार्यक्रममा सरिक भएपछि सोही संस्थाको सञ्चालकको जन्मदिनको कार्यक्रमलाई अस्वीकार गर्ने स्थिति नहुँदा मन्त्री कुँवर सरिक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विभिन्न सञ्चारमाध्यममा मन्त्री कुँवरको नाम जोडर आएको भन्दै त्यसमा कुनै सत्यता नरहेको प्रेस संयोजक खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आचार्यसँग मन्त्री कुँवरको कुनै व्यक्तिगत सम्बन्ध नरहेको र उनको विगतको क्रियाकलाप वा पृष्ठभूमिबारे समेत जानकारी नरहेको विज्ञप्तिमा प्रष्ट पारिएको छ ।