मानव तस्करीमा संलग्न थप १० जनाविरुद्ध मुद्दा दर्ता

मानव तस्करीमा संलग्न थप १० जनाविरुद्ध मुद्दा दर्ता


काठमाडौँ । नक्कली कागजात बनाएर भिजिट भिसाका नाममा हुने गरेको मानव तस्करीमा संलग्न भएको आरोपमा वायु सेवा निगम र ट्राभल्सका कर्मचारीसहित थप १० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा आज थप १० जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो । पछिल्लो पटक मुद्दा दर्ता गरिएका १० मध्ये २ जना भने फरार प्रतिवादी छन् ।

पछिल्लो पटक मुद्दा दर्ता हुनेहरुमा नेपाल एअर लाइन्सको छैटौं तहमा कार्यरत कर्मचारी होमनाथ पोख्रेल, वरिष्ठ सहायक पदमा कार्यरत कर्मचारी अरबिन्द यादव, ओन्टा ट्रिप अनलाइन ट्राभल्स एजेन्सी प्रालिका सञ्चालक मनुराज चौधरी, एटभिका ट्राभल्स एण्ड टुर्सका सञ्चालकद्धय बुद्धबहादुर बल र कमलराज हमाल रहेका छन् ।

हमाल गुण एअर लाइन्सको सिमरा एअरपोर्ट बाराका स्टेशन म्यानेजरसमेत हुन् ।

यस्तै, रोलेक्स ट्राभल्स एण्ड टुर्सका सञ्चालक देवराज खनाल, सोही ट्राभल्सका कर्मचारी राजकिशोर साह, अर्का कर्मचारी सञ्जय तामाङ विरुद्ध मुद्दा दायर भएको हो । सुशील तामाङ र सोनु तामाङ भने फरारको सूचीमा छन् ।

योसँगै नक्कली कागजताको आधारमा भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्न भएको आरोपमा मुद्दा दर्ता हुनेको संख्या २२ पुगेको छ ।