प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रिय एकता प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी रहेको बताए

प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रिय एकता प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी रहेको बताए

कहिरन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी रहेको बताएका छन्।

इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्ले विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यवद्धता कायम गरी राष्ट्रिय एकता प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी रहेको बताएका हुन्।

उनले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउन भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरेका छन्।

उनले नेपालको संविधानलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै जुनसुकै धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको बताएका छन्।

‘२१ औं शताब्दीको भूमण्डलीकरणको आधुनिक युगमा देश, भूगोल, भाषा, संस्कृति र आस्थाका दृष्टिले सिङ्गो मानव जाति नै गहिरो अन्तर्घुलनतर्फ उन्मुख भइरहेको छ,’ शुभकामना सन्देशमार्फत प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘क्रिसमस पर्वले संकीर्ण घेराहरु तोडेर बृहत्तर राष्ट्रिय हित र मानव जातिको कल्याणका निम्ति हामी सबैलाई प्रेरित गर्दै आएको छ ।’

यसलाई अझ समुन्नत र परिस्कृत तुल्याउनु सबै धार्मिक समुदायको समेत कर्तव्य हुन आउने प्रधानमन्त्री प्रचण्डले बताए।