धनुषामा प्रहरी हिरासतभित्र रहेका थुनुवाको मृत्यु

धनुषामा प्रहरी हिरासतभित्र रहेका थुनुवाको मृत्यु

कहिरन

धनुषामा प्रहरी हिरासतभित्र रहेका एक थुनुवाको मृत्यु भएको छ।

हंशपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्र रहेका थुनुवाको गए राति मृत्यु भएको थियो।

हंशपुर नगरपालिका वडा नम्बर ५ सुगानिकासका दीपनारायण मण्डलको मृत्यु भएपछि परिवार, आफन्त तथा स्थानीय बासिन्दा आक्रोशित छन्। उनीहरूले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन्। प्रहरीको मोटरसाइकलमा आगजनी गरेका छन्।

भिडलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर शंकर मण्डल घाइते छन्। हातमा गोली लागेका उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

हंसपुर नगरपालिकाकाको कार्यपालिका सदस्य राजेश सक्सेनाका अनुसार छिमेकीसँग झै-झगडा हुँदा दीपनारायणलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो।

विपक्षीले इलाका प्रहरी कार्यालयका प्रमुख बालमुकुन्द ठाकुरलाई ‘पैसा खुवाएर’ निर्घात कुट्न लगाउँदा दीपनरायणको मृत्यु भएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवालेले घटनास्थलमा अवस्था तनावग्रस्त रहेको बताए। उनले स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए।