ई–रिक्सालाई इटहरीमा अनिवार्य टाइम कार्ड

ई–रिक्सालाई इटहरीमा अनिवार्य टाइम कार्ड

कहिरन

सुनसरीको इटहरी उपमहानगरले अन्य पालिकामा दर्ता भएका  तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) लाई इटहरी प्रवेश गर्दा अनिवार्य टाइम कार्ड लागू गरेको छ।

इटहरी क्षेत्रबाहेक आसपासका क्षेत्रमा दर्ता भएका सिटी सफारीका लागि टाइम कार्ड लागू गरिएको उपमहानगरले जनाएको छ।

भदौ १७ गतेदेखि अन्य स्थानीय तहमा दर्ता भएका ई- रिक्सालाई सञ्चालनमा रोक लगाएको इटहरीले अहिले टाइम कार्ड लागू गरेको हो।

इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार सिटी सफारी व्यवस्थित गर्दा सहरको सुन्दरतासँगै दुर्घटना न्यूनीकरण हुने र सडकमा सवारी आवागमनमा सहजता हुने भएकाले टाइम कार्ड लागू गरिएको हो।

‘सिटी सफारीलाई व्यवस्थित गर्न इटहरी बाहिर दर्ता भएकालाई टाइम कार्ड लागू गरिएको हो। अब इटहरीसँगै आसपासमा चल्ने सबै सिटी सफारी जो दर्ता भएका छैनन्, अविलम्ब दर्ता हुनुपर्छ, नत्र सञ्चालनमा रोक लगाइनेछ,’ उनले भने।

इटहरीमा सिटी सफारीको अधिक चाप छ।

‘बाहिर दर्ता भएर अति आवश्यक कामले इटहरी आउनेलाई निश्चित कामका लागि टाइम तोकेर कार्ड दिन थालिएको छ,’ इटहरी उपमहानगरपालिका अधिकृत गणेश भट्टराईले भने, ‘सिटी सफारीलाई व्यवस्थित गर्न सकिएन भने यसले निकै ठूलो समस्या निम्त्याउन सक्छ भनेर बेलैदेखि यसलाई व्यवस्थित गर्न लागिएको हो।’

इटहरीमा पहिलोपल्ट ट्राफिक प्रहरीको अगुवाइमा २०७३ असोज दोस्रो साता पनि मुख्य राजमार्गमा सिटी सफारी गुड्न रोक लगाइएको थियो। तर, सिटी सफारी चालकले आन्दोलन चर्काएपछि निर्णय फिर्ता भएको थियो।

सिटी सफारी व्यवस्थित गर्नकै लागि भन्दै उपमहानगरपालिकाले  इटहरी क्षेत्रमा बसोबास गर्नेको मात्र सफारी दर्ता गर्दै आएको छ। इटहरी उपमहानगरपालिकामा दुई हजार सिटी सफारी दर्ता भएका छन्।