शुक्रबार एकै दिन करिब १५ अर्ब रुपैयाँ राजस्व संकलन

शुक्रबार एकै दिन करिब १५ अर्ब रुपैयाँ राजस्व संकलन

कहिरन

सरकारी खातामा शुक्रबार एकै दिन करिब १५ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ।

सरकारी खर्च आम्दानीको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार शुक्रबार १४ अर्ब ९५ करोड ५५ लाख रुपैयाँको राजस्व उठेको हो।

यो सँगै सरकारको मंसिरसम्मको राजस्व तीन खर्ब ६२ अर्ब चार करोड पुगेको छ।

गत आर्थिक वर्षको मंसिर २९ गतेसम्मको तुलनामा समग्र राजस्वमा ११ प्रतिशतको वृद्धिदर देखिएको छ। सरकारले चालु आर्थिक वर्षमा ४० प्रतिशतको वृद्धिसहित १४ खर्ब २२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखे पनि मंसिर महिनामा आएर मात्रै ११ प्रतिशतको वृद्धिदर पुगेको हो।

सरकारले चालु आर्थिक वर्षमा दिएको ‘स्किम’ अन्तर्गत शुक्रबार अधिकांश बैंक तथा वित्तीय संस्थाले मर्जर, प्राप्ति र एफपिओको लाभबाट भएको लाभकर भुक्तानी गरेका थिए।

ठूला करदाता कार्यालयका अनुसार शुक्रबार यस्ता संस्थाले ११ अर्ब तीन करोड राजस्व भुक्तानी गरेका थिए।

आइपिओ वा एफपिओबाट उठाएको पैसा पुँजी भएको तर लाभ नभएको जिकिर गरेका बैंकहरूले अब भने जरिवाना र ब्याजबाट बच्नका लागि शुक्रबारदेखि यस्तो कर बुझाउन थालेका हुन्।

आइपिओ वा एफपिओबाट उठाएको पैसा पुँजी भएको तर लाभ नभएको जिकिर गरेका १६ बैंकहरूले हालेको रिटक शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजालसले खारेज गरेको थियो।

सर्वोच्चले रिट खारेज गरिदिएपछि जरिवाना र ब्याजबाट बच्नका लागि शुक्रबार बैंकहरूले त्यस्तो लाभकर कर बुझाउन थालेका हुन्।