आज रास्वपाको महाधिवेशन प्रक्रिया सुरू

आज रास्वपाको महाधिवेशन प्रक्रिया सुरू

कहिरन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबारबाट महाधिवेशन प्रक्रिया सुरू गर्न लागेको छ।

आज सातै प्रदेशमा एक–एक वडा अधिवेशन गर्दै तलबाट महाधिवेशन प्रक्रिया थाल्न लागेको सचिवालय सदस्य सन्तोष परियारले जानकारी दिए।

‘मंसिर ११, १२, १३ गते महोत्तरीमा बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनसम्बन्धि कार्यविधि र सांगठनिक संरचना पारित गरेको थियो। तदनुरूप नै हामीले आज सातै प्रदेशमा वडा अधिवेशन गर्न लागेका छौं। आज सात प्रदेशका एक–एक वडामा अधिवेशन हुनेछ। त्यसका लागि केही पदाधिकारी र केन्द्रीय प्रतिनिधि खटाएका छौं,’ परियारले भने।

कोशी प्रदेशमा केन्द्रीय सदस्य विजय जैरू जानेछन्। उनी इटहरी उपमहानगरपालिका वडा नम्बर २० को अधिवेशनमा सहभागी हुनेछन्।

सहमहामन्त्री सुमना श्रेष्ठ मधेस जानेछिन्। उनी जीतपुरसिमरा उपमहानगरपालिकाको वडा अधिवेशनमा सहभागी हुनेछिन्।

महामन्त्री मुकुल ढकाल बागमती प्रदेशमा खटिएका छन्। चितवनको भरतपुर महानगरपालिका–११ को वडा अधिवेशनमा उनी सहभागी हुनेछन्।

संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार गण्डकी प्रदेशअन्तर्गत् कास्की जिल्ला जानेछन्। उनी पोखरा महानगरपालिकाको वडा नम्बर १० को अधिवेशनमा सहभागी हुनेछन्।

कोषाध्यक्ष नीला अधिकारी बुटवल उपमहानगरपालिका वडा नम्बर १३ को अधिवेशनमा सहभागी हुनेछिन्।

संगठन विभागका सचिव शंकर श्रेष्ठ सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ६ को अधिवेशनमा सहभागी हुनेछन्।

सहमहामन्त्री विपिन आचार्य कैलालीको टीकापुर नगरपालिकाको वडा अधिवेशनमा सहभागी हुनेछन्।

रास्वपाले यसअघि वडा तहमा तदर्थ समिति बनाएको थियो। अहिले नयाँ प्रक्रियाद्वारा अधिवेशन गर्न लागिएको हो।

रास्वपाले मनोनीतसहित ११ सदस्यीय वडा समिति गठन गर्ने छ।

वडा समिति समावेशी चरित्रको हुन्छ। मंसिर २१ गतेसम्म रास्वपाको सदस्य बनेकाले चुन्ने र चुनिने प्रक्रियामा सहभागी हुन पाउने पनि रास्वपाले जानकारी दिएको छ।

पहिलो चरणको वडा अधिवेशन खुला मतदानद्वारा हुने रास्वपाले बताएको छ। रास्वपाले केन्द्रीय महाधिवेशन मिति भने तोकिसकेको छैन।