सुर्तीजन्य पदार्थमा काठमाडौँको रोक: जनप्रतिनिधि र कर्मचारीले पनि खान नपाउने

सुर्तीजन्य पदार्थमा काठमाडौँको रोक: जनप्रतिनिधि र कर्मचारीले पनि खान नपाउने


काठमाडौँ । काठमाडौं महानगरभित्रका जनप्रतिनिधि र कर्मचारीहरूले सुर्तिजन्य पदार्थ खान नपाउने भएका छन् ।

महानगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै महानगरका सबै कर्मचारीहरुले निषेध गरिएको सुर्तीजन्य पदार्थ खान नपाउने जनाएको हो । जनप्रतिनिधि तथा कर्मचारीहरूले सुर्तीजन्य पदार्थ खान्छन् कि खाँदैनन भन्ने प्रश्नको जवाफमा महानगरका प्रवक्ता नवीन मानन्धरले उक्त जवाफ दिएका हुन् ।

महानगरपालिकाले आजदेखि लागू हुने गरी सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि हानिकारक भएको भन्दै बिक्री/वितरण र सेवनमा रोक लगाएको छ । महानगरले १५ दिनअघि सूचना जारी गरेको सूचनाअनुसार अबदेखि प्लाष्टिकमा प्याकिङ गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध भएको छ ।

सार्वजनिकस्थलको एक सय मिटर वरिपरी बेच्न र सेवन गर्नमा महानगरले रोक लगाएको छ । बेच्न लाइसेन्स लिएकाले पनि नियम मिच्न पाउने छैनन् । अब देखि कुनै पनि पसलमा अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिए दुई पटकसम्म जफत र तेस्रो पटक पनि भेटिएमा पसल नै बन्द गर्ने महानगरले चेतावनी समेत दिएको छ ।

महानगरका प्रवक्ता मानन्धरका अनुसार शिक्षण संस्था, विमानस्थल, बालकल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटेल, रेष्टुरेण्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्टल स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालयलगायतका सार्वजनिक स्थलको एक सय मिटर वरिपरी बिक्री/वितरण र सेवन गर्न पाइने छैन ।

‘काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२, सुर्तीजन्य पदार्थ (निरूपण र नियमन) ऐन २०६८ को दफा ११ बमोजिम रोक लगाइएको हो, जनस्वास्थ्यमा पारेको प्रतिकूल प्रभाव रोक्न, शहरी सौन्दर्य कायम राख्न र भूमि तथा वातावरणीय असर न्युनिकरण गर्ने उद्देश्य हाम्रो हो,’उनले भने ।

प्लाष्टिक वा बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थ सेवनका कारण भूमि प्रदूषित हुने, ढल जाम हुने, फोहोरमैला बढ्न गई शहरको सुन्दरतामा प्रतिकूल प्रभाव परेको उनको भनाइ छ ।