बारा घटना: प्रहरीको गोली लागेका युवकको मृत्यु

बारा घटना: प्रहरीको गोली लागेका युवकको मृत्यु


काठमाडौँ । बारामा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ ।

सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयमा भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर वडानम्बर १ का २६ वर्षका लक्ष्मी मुखियाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं डिआइजी कुबेर कडायतले जानकारी दिए ।

उनका अनुसार झडपका क्रममा प्रदर्शकारीले ढुंगामुढा गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १४ जना सुरक्षाकर्मीहरु घाइते भएका छन् ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयमा विपक्षी समूह तथा अनसनमा बसेका व्यक्तिहरुले एक्कासी ढुङ्गा मुढाका साथै नगरपालिकाको गाडी तथा भवनमा तोडफोड गरेर प्रहरीमाथि नै आक्रमण हुन थालेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्याँस र हवाइफायर गरेको डिआइजी कडायतले बताए ।

सोही क्रममा गोली लागेर घाइते भएका मुखियाको उपचारकै क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।