काठमाडौं महानगरले २६४ ठाउँमा बस बिसौनी बनाउने

काठमाडौं महानगरले २६४ ठाउँमा बस बिसौनी बनाउने


काठमाडौँ । काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी बस स्टप बनाउने भएको छ । २९ औँ महानगर दिवस २०८० का अवसरमा आज महानगरपालिकामा आयोजना गरिएको महानगरपालिका र ट्राफिक प्रहरीबीच समन्वय तथा सहकार्य सम्बन्धी अन्तरक्रियामा यस्तो जानकारी गराइएको हो ।

यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ लाइट बिस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको महानगर जनाएको छ ।

यससँगै दैनिक उपभोग्य वस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसहरूको समय निर्धारण गर्ने, पार्किङ्ग व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणाली सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुनेछन् ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक सम्पन्न भइसकेको जानकारी गराउँदै सम्बद्ध कार्यालयहरूसँग सहकार्य अगाडि बढाइएको बताए। ‘अहिले सानातिना सुधारका काम गर्दा प्रणालीमा सुधार आउँछ भने त्यहाँबाट सहकार्य थालौँ,’उनले भने ।

काठमाडौंमा अटो रिक्सा, इरिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने उनको भनाइ छ । अन्तरक्रियामा प्रस्तुतिकरण गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक पोषराज पोखरेलले महानगरपालिकासँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन बढ्ने, प्रणालीमा सुधार हुने काम गर्न सकिने बताए ।

बागमती, विष्णुमती, धोवीखोला र मनोहरा करिडोरलाई दुईतर्फी सञ्चालन गराउन पाए सवारी चाप गराउन सकिने बताउँदै पोखरेलले यसका लागि महानगरपालिकाको भूमिका आवश्यक रहेको बताए ।

यातायात प्रणाली सुधारका विषयमा प्रस्तुतीकरण गर्दै महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले संकेत चिन्हहरू मिलाउन तत्काल काम थाल्नुपर्ने बताए । यस्ता चिन्हहरू आधिकारिक निकायले मात्र राख्नुपर्ने, अध्ययन गरेर मात्र राख्नुपर्ने भएकोले महानगरपालिकाले यसतर्फ काम गरिरहेको उनको भनाइ थियो ।

‘यस्ता चिन्हरू देखिने हुनुपर्छ, स्पष्ट हुनुपर्छ, बुझ्न सजिलो हुनुपर्छ, प्रोत्साहन दिने खालका हुनुपर्छ,’श्रेष्ठले भने,‘प्रणाली सुधार गर्न धेरै काम गर्नुपर्नेछ, यस वर्ष यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रूपैयाँ छुट्याएर काम भइरहेको छ ।’

अन्तरक्रियामा विभिन्न ट्राफिक पोष्टमा बसेर काम गरिरहेका इञ्चार्जहरूले आफ्नो क्षेत्रको अवस्थामा विषयमा जानकारी गराएका थिए ।