कोशी पुगेसँगै एमाले अध्यक्ष ओली पहिचानवादीसँग लचक

कोशी पुगेसँगै एमाले अध्यक्ष ओली पहिचानवादीसँग लचक


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोशी झरेसँगै पहिचानवादीहरुसँग लचक बनेका छन् । कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पक्षसँग एमाले अध्यक्ष ओली अचानक लचक बनेका हुन् ।

मङ्सिर १४ गतेबाट एमालेले सुरु गरेको सङ्कल्प यात्राका क्रममा आज कोशी प्रदेश प्रवेश गर्नु भएका ओलीले पहिचान पक्षधरहरूलाई लक्षित गर्दै भावनामा बग्न जरुरी नभएको बताएका हुन् ।

यसअघि सङ्कल्प यात्रा अभियानकै क्रममा पहिचान पक्षधरका गतिविधिप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीले दुईचार जना सडकमा उफ्रदैमा केही नहुने टिप्पणी गरेका थिए । तर, आज भएको सभामा ओलीले एमालेको संकल्प यात्रा कसैका विरुद्ध नभएको भन्दै चित्त नदुखाउन आग्रह पनि गरे ।

कोशी प्रदेश नामकरणको विरोधमा एमाले अध्यक्ष ओलीसहितका नेताहरूलाई कोशीमा प्रवेश नदिने चेतावनीसहित राजमार्ग बन्द आह्वान गरेको पहिचान पक्षधरहरूको आन्दोलनलाई मध्यनजर गर्दै कडा सुरक्षाकाबीच एमालेले कोशी प्रदेशमा सभा गरेको छ ।

संकल्प यात्रामा अवरोध गर्न खोज्ने गोपाल किरातीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पहिचान पक्षधरबाट विरोध भइरहेकोमा जानकार ओलीले राजनीतिमा भएका मतभेद सँगसँगै बसेर छलफलबाट औचित्य पुष्टि गर्न सुझाव पनि दिएका छन् ।