सुरक्षित नभएको भन्दै १० प्रकारका औषधी उत्पादनमा रोक

सुरक्षित नभएको भन्दै १० प्रकारका औषधी उत्पादनमा रोक


काठमाडौँ । औषधि व्यवस्था विभागले विभिन्न १० प्रकारका औषधि उत्पादनमा रोक लगाएको छ । विभागले सुचना जारी गर्दै औषधि मुल्याकन समितिको यहि मंसिर ११ बसेको बैठकले निर्णय गरी रोक लगाउन पठाएको रायअनुसार ती औषधिलाई उत्पादनमा रोक लगाइएको जनाएको छ ।

रोक लगाइएको औषधिमा लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी छन् । यस्तै एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ८५० एमजी छन् ।

अनुगनम, मूल्याकन तथा कानुन कार्यावन्यन महाशाखाका प्रमुख पान बहादुर क्षेत्रीका अनुसार यी औषधिहरु नेपाली कम्पनीबाट उत्पादित औषधिहरु हुन् । उनका अनुसार पहिले अनुमति दिइएको थियो, तर प्राविधिक मुल्यांकनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाइएको हो ।

‘अहिले रोक लगाएको औषधि अन्तराष्ट्रिय बजारमा यही मात्रामा दर्ता भएको छैन । यी औषधि मानिसलाई सुरक्षित, प्रभावकारी नभएको र शरीरमा सहन गर्ने क्षमता कम भएको भएको कारण रोक लगाइएको हो,’ क्षेत्रीले भने ।

विभागले औषधि सल्लाहाकार समितिको बैठकबाट यसबारे थप निर्णय हुने जनाएको छ । औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदा सम्मको लागि नयाँ उत्पादन नगर्न र बजारमा बिक्रि वितरण भइरहेको ब्राण्ड समेत थप उत्पादन नगर्न विभागले निर्देशन दिएको छ ।

रोक लगाइएका औषधि मधुमेह, अल्सरलगायत रोगका विरामीलाई प्रयोग गरिँदै आएको छ । बिगतमा अनुमति मागेको पत्रको आधारमा मात्रै उत्पादन अनुमति दिने गर्दा कमजोरी हुने गरेको उनले बताए ।